नेताको स्वार्थले नेविसंघ नेतृत्वविहीन
११ पुस, काठमाडौं । नेपालको प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याएको नेपाल विद्यार्थी संघ अहिले नेपाली कांग्रेसका शीर्ष नेताहरूको स्वार्थको सिकार भएको छ । कांग्रेसका केन्द्रीय सदस्य एवं संघका पूर्वअध्यक्ष गुरुराज घिमिरेले गत वर्षको फागुनदेखि अहिलेसम्म संघ नेतृत्वविहीन भएको बताए ।

उनका अनुसार संघको महाधिवेशन गराउन कांग्रेस केन्द्रीय समितिको बैठकले सभापति शेरबहादुर देउवालाई जिम्मेवारी सुम्पे पनि महिनौं भइसकेको छ । सभापतिले तदर्थ समिति गठनका लागि पहल गरे पनि शीर्ष नेतृत्वबीच आफूनजिकको अध्यक्ष बनाउने होडमा संघको संगठन नै तहसनहस भएको गुनासो विद्यार्थी नेताहरूको छ ।
कांग्रेस केन्द्रीय कार्यालयमा ९ दिनदेखि संघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेसहितका नेताहरू अनशनमा छन् । पार्टी नेतृत्वले संघको विधानविपरीत ३२ वर्षमाथिका नेतालाई अध्यक्ष बनाउन नमिल्ने भन्दै विरोध गरिरहेको खबर गोरखापत्र दैनिकमा छ ।
पार्टीका एक पदाधिकारीका अनुसार संघको १२औँ महाधिवेशनमा ३२ वर्षलाई आधार मानेर अधिवेशन हुने तर तदर्थ समितिमा त्यो नियम लागू नहुने बताउँछन् । नेताहरूले अगाडि सारेका नेताहरूको उमेर ४५ देखि ५२ वर्षसम्मका छन् । पुस ११ गते बस्ने बैठकमा पेस गरिने सहमतिको दस्तावेजमा पनि नेविसंघको तदर्थ समितिको गठनलाई नै लिएर विवाद भइरहेको छ ।
२०७५ भदौ २ गते नैनसिंह महरको नेतृत्वको कार्यकाल समाप्त भएको थियो र त्यसपछि थपिएको अवधिमा २१ जिल्लाको अधिवेशन भएको थियो । महर नेतृत्वको संघले अधिवेशन गर्दै गरेको समय अपुग भएपछि ३ महिनाको समय थप गर्न माग भए पनि समय थपिएन । कांग्रेस नेतृत्वले समय नथप्ने निश्चित भएपछि अध्यक्ष महरले २०७५ माघ २८ गते पदबाट राजीनामा दिएपछि संघ नेतृत्वविहीन छ ।
प्रकाशित मिति : 06:50







