२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

देशैभर ह्वात्तै चिसो बढ्यो, काठमाडौं उपत्यकाको तापक्रम १ डिग्रीमा झर्‍यो

१० पुस, काठमाडौं काठमाडौँ उपत्यकाको तापक्रम १ डिग्रीमा झरेको छ । काठमाडौंको तापक्रम आज यस वर्षकै कम मापन गरिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए । यसअघि हिजो भने २ दशमलव ९ डिग्री सेल्सियस थियो ।

पौडेलकाअनुसार तापक्रम निरन्तर घट्ने क्रममा छ । ‘राति बदली भई तापक्रम घटने र आकाश खुला भए तापक्रम बढ्ने हुन्छ । चिसो बढ्ने क्रममा छ,’ उनले भने, ‘अब दिन छोटो र रात लामो हुँदै गएकाले तापक्रम घटबढ भइरहनेछ ।’

यस वर्ष उपत्यकाको तापक्रम शून्य डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । माइनसमा पुग्ने सम्भावना भने छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार जुम्लामा माइनस ६, जिरीमा माइनस २ र जोमसोममा माइनस १/२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।

तराईका जिल्लामा पनि चिसो बढेको छ । चिसो बढेसँगै तराईका अधिकांश जिल्लामा हुस्सु र शीतलहरले जनजीवन कष्टकर बन्दै गएको छ । बिहानको समयमा तराईमा हुस्सु/कुहिरो लाग्ने र हिमपात पर्ने स्थानमा चिसोको असर पर्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

चिसोले तराई क्षेत्रका सडकमा सवारीसाधन पनि कम चलेका छन् । अत्यावश्यक कामबाहेक सर्वसाधारण घरबाहिर निस्किएका छैनन् । चिसोजन्य मौसमी रुघाखोकी र ज्वरोका बिरामी पनि बढेका छन् । अत्यधिक चिसो बढेका कारण ठाउँ-ठाउँमा आगो तापेर बस्नेहरुको झुन्ड देख्न सकिन्छ ।

चिसोले विशेषगरी बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित बनेका छन् ।

प्रकाशित मिति : December 26, 2019 at 8:16 am