२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

अपराधमा संलग्न अझै २ हजार चिनियाँ नेपालमै

९ पुस, काठमाडौं राजधानीका विभिन्न स्थानबाट सीमापार आर्थिक अपराधमा संलग्न १ सय २२ जना चिनियाँ पक्राउ गरेको नेपाल प्रहरीले अझै २ हजार बढी यस्ताखाले व्यक्ति रहेको सूचना पाएको छ । चीनबाट आएको विशेषज्ञ टोलीको विशेष सूचना र सहयोगमा १ सय २२ जनालाई सोमबार मनमैजु, महाराजगन्ज र बूढानीलकण्ठबाट सीआईबी, काठमाडौं प्रहरी र अपराध महाशाखाको संयुक्त टोलीले पक्राउ गरेको थियो ।

उच्च स्रोतका अनुसार चिनियाँ विशेषज्ञ टोलीले अझै २ हजार चिनियाँ नागरिक आर्थिक अपराधमा संलग्न रहेर नेपालबाट चीनमा आर्थिक अपराधका घटना गराइरहेको सूचना नेपाल प्रहरीलाई दिएको छ । उनीहरू राजधानीका काठमाडौं, भक्तपुर र ललितपुरसहित पोखरा, चितवन र लुम्बिनी आसपास रहेको अनुमान छ ।

गत २८ असोजदेखि १ कात्तिकसम्म चिलीमा आयोजित इन्टरपोलको ८८औं महासभामा समेत प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई चिनियाँ इन्टरपोलका प्रमुखले चीनका नागरिकले नेपाल बसेर साइबर अपराध लक्षित घटना गराइरहेको भन्दै विशेष निगरानीका लागि आग्रह गरेका थिए ।

स्रोतका अनुसार बैंक ह्याकिङ प्रकरणमा चिनियाँ नागरिक पक्राउ परेपछि करिब २ साता अघिदेखि ३ दर्जन चिनियाँ विशेषज्ञ अनुसन्धानको टोली नेपालमै बसेर आफ्ना नागरिकको गतिविधिमाथि निगरानी गरिरहेको राजधानी दैनिकमा खबर छ ।

काठमाडौं आएर उनीहरूले नेपालबाट आफ्ना देशमा भइरहेका साइबर अपराध र आर्थिक अपराधसँग जोडिएका अपराध विषयमा नेपाल प्रहरीसँग संयुक्त रूपमा समन्वयमा काम गरिरहेको स्रोत बताउँछ ।

पक्राउ परेकाहरूले अनलाइनमार्फत चीनमा जुवा खेलाउने, अनलाइनमार्फत नै युवतीका अश्लील तस्बिर र भिडियो देखाउनेदेखि बैंकको एकाउन्ट ह्याक गरेर पैसा निकाल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेकाहरूमाथि परिसर काठमाडौंले मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिसकेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले नेपालको कानुनकै परिधिभित्रै रहेर मुद्दा प्रक्रिया सुरु भइसकेको बताए । उनीहरू फरक–फरक समयमा नेपाल आएको र कतिपयको राहदानीसमेत नभेटिएको प्रहरीले जनाएको छ ।

कारबाहीको डरले भागेर नेपालमा
चीनले आफ्नो मुलुकमा विदेशी भूमिबाट आर्थिक अपराधका घटना गराएको पाइएको भन्दै फिलिपिन्स, कम्बोडिया, भियतनाम, लाओस, इन्डोनेसिया र मलेसियालगायत देशमा रहेका आफ्ना नागरिकमाथि कडा निगरानी राख्दै आएको छ ।

आर्थिक अपराधको घटनामा चीनको कडा निगरानीपछि केही दिनअघि फिलिपिन्सबाट ६ सय १ जना चिनियाँ पक्राउ परेका थिए । नेपालमा सोमबार पक्राउ परेकामध्ये केही भने ती मुलुकबाट कारबाहीको डरले भागेर नेपाल आएको आशंका चिनियाँ विशेषज्ञ अनुसन्धान टोलीसहित नेपाल प्रहरीको छ ।

कम्बोडिया, भियतनाम, लाओस, इन्डोनेसिया र मलेसियालगायत देशमा समेत यस्तै प्रकृतिको अपराध बढेपछि चीन सरकारको अनुरोधमा कारबाही अघि बढिसकेको छ ।

प्रकाशित मिति : December 25, 2019 at 7:31 am