१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

नेकपा र समाजवादीबीच ‘खटपट’

८ पुस, काठमाडौं संघीय सरकारका सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र समाजवादी पार्टीबीच ‘खटपट’ सुरु भएको छ । समाजवादी पार्टीले सरकारविरुद्ध नै गतिविधि गर्न थालेपछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय कडा रूपमा प्रस्तुत हुन थालेका छन् ।

सत्ता साझेदार भए पनि प्रधानमन्त्री ओलीले महत्त्वपूर्ण निर्णयमा समाजवादीलाई सहभागी गराउन छाडेका छन् । सरकार र नेकपाले समाजवादीलाई वास्ता गर्न छोडे पनि समाजवादीले सरकार नछोड्ने जनाएको छ । समाजवादीका एक नेताले संविधान संशोधनको सर्तसहित सरकारमा सहभागी भएकाले संशोधनको काम पूरा गराउन सरकारमा बसिराख्ने बताए । पार्टीले अहिले सरकार छोड्ने निर्णय नगरेकाले सरकारमै बसेर संघर्ष गरिराख्ने समाजवादी पार्टीको रणनीति रहेको खबर राजधानी दैनिकमा छ ।

गत ३ असोजमा सरकारले संविधान दिवस भव्य रूपमा मनाउँदै गर्दा सत्ता साझेदार समाजवादीले बहिष्कार गर्‍यो । संविधान दिवस मनाउन छोडेर उपप्रधान तथा कानुनमन्त्री रहेका समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा गएका थिए । उनको दल समाजवादी पार्टीले देशैभरि संविधान दिवस बहिष्कार गर्यो । प्रदेश २ सरकारका मुख्यमन्त्री एवं समाजवादी पार्टीका उपाध्यक्षसमेत रहेका लालबाबु राउतले संविधान दिवस बहिष्कार मात्रै गरेनन्, संविधानका विरुद्धमा आयोजित कार्यक्रममा सहभागी भएर संविधान र संघीय सरकारको चर्को आलोचनासमेत गरे ।

पछिल्लो समय बसेको समाजवादी पार्टीको संघीय परिषद् बैठक र केन्द्रीय कमिटी बैठकमा सरकार र नेकपाको आलोचना गरिएपछि प्रधानमन्त्री ओली झन्झन् रुष्ट भए । तर, सरकार छोड्ने बाबुराम भट्टराईको प्रस्ताव यादवले अस्वीकार गर्दै सरकारमै बस्ने निर्णय गराए । सत्तासाझेदार दलको जस्तो व्यवहार नदेखिएपछि समाजवादीलाई वास्ता गर्न छोडिएको वालुवाटार स्रोतको भनाइ रहेको छ ।

पछिल्लो समय मन्त्रीपरिषद् पुनर्गठन गर्दै गर्दा प्रधानमन्त्री ओलीले समाजवादीसँग कुनै सल्लाह गरेनन् । स्वास्थ्यमन्त्री रहेका यादवलाई कानुनतर्फ सरुवा गरे । त्यतिबेला उनी भारत भ्रमणमा रहेका थिए । स्वास्थ्य राज्यमन्त्री रहेका सुरेन्द्र यादवलाई पदमुक्त गरियो । त्यतिबेला यादव वीर अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।

राष्ट्रिय सभाको रिक्त सदस्यका निमित हुने निर्वाचनका लागि समेत नेकपाले समाजवादीसँग सहकार्य नगरी राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) सँग सहकार्य गर्ने सहमती गर्‍यो । जब कि राष्ट्रिय सभा निर्वाचनका लागि समाजवादीसँग मिलेर जाने तयारी नेकपा अध्यक्ष पुष्पकमल दाहाल र समाजवादी अध्यक्ष उपेन्द्र यादवले गरेका थिए । तर, यादव बंगालादेश भ्रमणमा जादै गर्दा प्रधानमन्त्री ओलीले राजपासँग राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने सहमति गरे ।

प्रकाशित मिति : 07:13