१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

एसईई प्रश्नपत्र केन्द्रले नै छाप्ने

७ पुस, काठमाडौं यसपटक पनि प्रवेशिका परीक्षा (एसईई) को प्रश्नपत्र केन्द्रबाटै छापेर प्रदेशमा पठाइने भएको छ । संविधानले माध्यमिक तहको शिक्षाको अधिकार प्रदेश तहलाई प्रत्यायोजित गरिसकेको छ ।

सोहीअनुरूप एसईईको उत्तरपुस्तिका प्रदेश सरकारले छाप्ने र परीक्षा व्यवस्थापन गर्दै आएको छ । स्थानीय तहले कक्षा ८ को परीक्षा पूर्ण रूपमा सञ्चालन गर्ने गरेका छन् । प्रदेश ५ का शिक्षा निर्देशक मनोज गैरेले कक्षा ८ को परीक्षा गोपनीयताका साथ स्थानीय तहले सञ्चालन गर्न सक्छन् भने कक्षा १० को परीक्षा प्रदेश सरकारले सञ्चालन गर्न नसक्ने तर्क नै उपयुक्त नभएको बताए ।

उनले भने, “प्रदेशले गोपनीयता कायम गर्न सक्छ, २ वर्षदेखि नै हामीले प्रश्नपत्र छपाइको जिम्मा पनि प्रदेशलाई हस्तान्तरण गर्दा हुन्छ भनेर तत्कालीन परीक्षा नियन्त्रकलाई भनेका थियौँ । यो वर्ष भइहाल्यो, आगामी वर्ष दिने व्यवस्था गरौँला भन्नुभएको थियो तर गत वर्ष पनि केन्द्रले नै छाप्यो । यस वर्ष पनि केन्द्रले नै छाप्ने भयो ।” उनका अनुसार प्रदेश ५ लाई एसईई परीक्षाको उत्तरपुस्तिका छाप्न भनेर ३ करोड १२ लाख रुपैयाँ उपलब्ध गराइएको छ ।

कक्षा १२ सम्मको शिक्षालाई माध्यमिक तहको बनाइएपछि विद्यालय तह सुधार कार्यक्रम (एसएसआरपी) को दस्तावेजमा कक्षा १० को परीक्षा साबिकको क्षेत्रीय तहमा गर्ने उल्लेख गरिएको थियो । एसएसआरपीपछि ल्याइएको विद्यालय क्षेत्र विकास योजना (एसएसडीपी)को दस्तावेजमा कक्षा ८ को स्थानीय तहले, कक्षा १० को प्रदेश तहले र कक्षा १२ को राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन गर्ने भनी प्रस्ट उल्लेख छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको राष्ट्रिय शिक्षा नीतिमा पनि कक्षा ८ को अन्त्यमा स्थानीय तहले, कक्षा १० को अन्त्यमा प्रदेश तहले र कक्षा १२ को परीक्षा सङ्घीय तहमा सञ्चालन, व्यवस्थापन र प्रमाणीकरण गर्ने व्यवस्था मिलाइने भनेर स्पष्ट लेखिएको खबर गोरखापत्र दैनिकमा छ ।

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले प्रश्नपत्र प्रदेशले छाप्न सक्दैनन् भन्ने हो भने सङ्घीयताको मर्मविपरीत हुन्छ र सक्छन् भन्ने हो भने किन छाप्न नदिइएको भन्दै थपे, “गर्न सक्नेलाई छाप भनेर दिने हो र नसक्नेहरूका लागि हामी छापिदिन्छौँ भन्ने हो । अब पनि प्रदेशलाई सक्दैनन् भनेर नपत्याउनु राम्रो हुँदैन । काठमाडौँमात्र पूर्वाधार सम्पन्न छन् भने अब प्रदेशलाई पनि बनाउन सक्नुपर्छ ।”

प्रकाशित मिति : ७ पुष २०७६, सोमबार ०६:४३