नुवाकोटमा सवारी दुर्घटनाः रसुवाका सुदीपसहित २ को मृत्यु, ६ घाइते
६ पुस, विदुर । नुवाकोटको विदुर नगरपालिका–६ स्थित मूल्थलामा बाटोको काम गर्ने नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिको गाडी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा छ जना घाइते भएका छन् ।मूल्थलाबाट चैनपुरतर्फ काम गर्न जाँदै गरेको बा२क ७९१० नंको आइचरमा सवार सोही कम्पनीका कर्मचारी दुईजनाको दुर्घटनामा परी मृत्यु भएको नुवाकोट प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनुभयो । नायब उपरीक्षक थापाका अनुसार आइचरमा सवार नागार्जुन कन्स्ट्रक्सन कम्पनीका कर्मचारीहरु बाटोको काम गर्न चैनपुर जाँदै गर्दा दुर्घटना भएको हो ।

रसुवा जिल्ला नौकुण्ड गाउँपालिका–३ का १९ वर्षीय सुदीप तमाङ (सह–चालक) र खोटाङ जिल्ला घर भएका १९ वर्षीय अविरल तमाङको घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो । घाइते हुनेमा नुवाकोट ककनी गाउँपालिका–१ का २८ वर्षीय गणेश बलामी (चालक), सोही जिल्लाका विदुर नगरपालिका– ६ का ४५ वर्षीय सचितकुमार रिमाल, जाजरकोट जिल्ला भेरी नगरपालिका–३ का २२ वर्षीय शङ्करराज सुनार, सोही ठाउँका २७ वर्षीय हेमराज ठकुरी, ३० वर्षीय तिलक खत्री र १८ वर्षीय विमल सुनार रहेको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिनुभयो । घाइते छ जनामध्ये दुई जनालाई काठमाडाैँ ‘रिफर’ गरिएको र चारजनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।
प्रकाशित मिति : December 22, 2019 at 1:41 pm









