२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

संविधानले भौगोलिक अखण्डता चाहेर पनि संशोधन गर्न सक्दैन : नेता सिटौला

५ पुस, बनियानी । नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले मुलुकको भौगोलिक अखण्डता असंशोधनीय भएको बताउनुभएको छ । झापाको भद्रपुर–५ स्थित ‘मेची रिभर साइड बिच भलिबल’ प्रतियोगिताको दोस्रो संस्करणको उद्घाटन गर्दै नेता सिटौलाले भन्नुभयो, “संविधानले भौगोलिक अखण्डता चाहेर पनि संशोधन गर्न सक्दैन, भौगोलिक अखण्डता नै राष्ट्रियताको पहिचान हो ।”

कालापानी, लिम्पियाधुरा, लिपुलेक क्षेत्रको नेपाली भूमि भारतले मिचेको विषयमा काँग्रेसले भारतसँग उच्चस्तरमा राजनीतिक र कूटनीतिक पहल गरेर समाधान गर्न सरकारलाई दबाब दिइरहेको उहाँले बताउनुभयो । दुई देशबीचमा राजनीतिक र कूटनीतिक पहल गरेर सीमा विवादको विषय समाधान गर्न सरकारलाई काँग्रेसले सुझाव दिइसकेको नेता सिटौलाले जानकारी दिनुभयो ।

कार्यक्रममा भद्रपुर नगर क्षेत्रका दुई अग्रज पत्रकारलाई सम्मानसमेत गरिएको छ । अग्रज पत्रकार गोपाल गिरी र स्वाधीन संवाद साप्ताहिकका सम्पादक तथा रेडियो भिजनका कार्यक्रम संयोजक माधव विद्रोहीलाई नगदसहित सम्मान गरिएको हो ।

भद्रपुर वडा नं ५ को आयोजनामा भएको प्रतियोगिताको उद्घाटन खेलमा वडा ३, ४, ५ र ६ विजयी भएको छ । प्रतियोगिता पुस ७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नगरभरिका १० वटा वडाले सहभागिता जनाएको छन् । विजेता टिमलाई नगद रू ३० हजार, उपविजेता टिमलाई नगद रू २० र तृतीय हुने टिमलाई नगद रू १० हजारसहित शिल्ड प्रदान गरिने भद्रपुर–५ का वडाध्यक्ष बन्धु कार्कीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : December 21, 2019 at 9:31 pm