आन्तरिक कलहमै कांग्रेस, सहमति नजुट्दा बैठक सर्यासर्यै
५ पुस, काठमाडौं । नेपाल विद्यार्थी संघ, तरुण दल र पार्टीका रिक्त विभाग गठनका विषयमा सहमति नजुट्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक फेरि सरेको छ । गत २६ मंसिरबाट सुरु बैठकमा नेविसंघ, तरुण दल र पार्टीका रिक्त विभाग गठनका विषयमा संस्थापन पक्ष र इतर पक्षबीच सहमति नजुट्दा पटकपटक सर्दै आएको बैठक पुनः १० पुसमा बस्ने गरी सरेको हो ।
सभापति शेरबहादुर देउवाले पार्टीका रिक्त विभागसहित नेतृत्वविहीन रहेको नेविसंघ र म्याद गुजारेको तरुण दल गठन गर्न भन्दै २६ मंसिरबाट केन्द्रीय समिति बोलाएका थिए । बैठकमार्फत सभापति देउवाले पार्टीका रिक्त विभागका लागि प्रस्तावसमेत गरिसकेका छन् ।

प्रस्तावमा असहमति राख्दै कांग्रेसभित्रको रामचन्द्र पौडेल समूहले बैठकमार्फत १४औं महाधिवेशनको एजेन्डा ल्याउनुपर्ने अडान लिँदै आएको थियो । पौडेल समूह त्यसयता निरन्तर बैठक बहिष्कारमा रहेको खबर राजधानी दैनिकमा छ । महाधिवेशनको एजेन्डामै विवाद रहँदै आइरहेका बेला पछिल्लो समय दुवै समूहबीच नेविसंघ, तरुण दल र विभाग गठन गर्दा कसरी गर्ने र भाग कति लाग्ने भन्नेमा समेत विवाद बढेको छ ।
कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले सहमतिका लागि निरन्तर प्रयास भइरहेकाले सकेसम्म सहमतिबाटै सबै विषयमा निर्णय गर्न बैठक सारिएको बताए । ‘सहमतिको प्रयास निरन्तर भइरहेको छ । सकेसम्म सहमतिबाट अघि बढौं भन्नेमा सभापति लागिरहनुभएको छ तर साथीहरूबाट एकपछि अर्को समस्या झिक्ने काम हुँदा बैठक लम्बियो,’ सहमहामन्त्री महतले भने ।
सभापति देउवा समूह नेविसंघको नयाँ कार्यसमिति ल्याउँदा तत्कालका लागि ३२ वर्षे उमेरहद लागू नगरी ल्याउने पक्षमा छ । तर, इतर पक्ष त्यसको विरोधमा छ । यस्तै, संस्थापन पक्ष पदाधिकारीको संख्या बढाउने पक्षमा छ भने इतर पक्ष त्यसको विरुद्धमा उभिँदै आइरहेको छ ।
यसैगरी, तरुण दलमा समेत संस्थापन पक्ष वर्तमान नेतृत्वलाई नै म्याद थप गर्ने पक्षमा छ भने इतर पक्ष महाधिवेशनका लागि तरुण दलको विधानअनुसारको पूरा कमिटी बनाउनुपर्ने अडानमा छ ।
पार्टीभित्र देखिएको विवादका विषयमा सहमति जुटाउने पटकपटकको प्रयास असफल भएपछि कांग्रेसले बैठक नै सारेको हो । यसअघि समेत पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले बहुमत, अल्पमत र बहिष्कारबाट पार्टीलाई हित नहुने भन्दै बैठक रोकेर वार्ताको प्रयास गर्न सभापति देउवालाई आग्रह गरेपछि बैठक स्थगित गरेर वार्ता सुरु गरिएको थियो ।
असहमति रहेका विषयमा सहमति जुटाउन भन्दै कांग्रेसभित्रको दुवै समूहले वार्ता समिति नै बनाएर वार्ता गरिरहेका छन् । वार्ताका लागि गठन गरेको कार्यदलका संस्थापन पक्षबाट उपसभापति विमलेन्द्र निधि र इतर पक्षबाट प्रकाशमान सिंहले नेतृत्व गरिरहेका छन् ।
प्रकाशित मिति : 07:37







