१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

५ पुस, काठमाडौं प्रतिनिधि सभाको सभामुख चयन प्रक्रिया पुस ११ बाट सुरु गर्ने राजनीतिक समझदारी बनेको छ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले शुक्रबार बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठकमा दलहरूले ११ गतेबाट प्रक्रिया प्रारम्भ गर्न सुझाएका छन् ।

राजनीतिक परामर्शपछि ११ गते १ बजे बस्ने बैठकले सभामुख चयनको कार्यतालिका सार्वजनिक गर्नेछ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले ११ गतेको बैठकले कार्यतालिका सार्वजनिक गर्ने बताए । प्रतिनिधिसभा बैठकपछि नेम्वाङले भने, “पुस ११ गते बस्ने बैठकले प्रक्रिया प्रारम्भ गर्नेछ । प्रक्रिया अघि बढाइनुभन्दा अघि अन्य निर्णय हुनेछन् ।”

असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि स्थान रिक्त छ । संसद्को पाँचौँ अधिवेशन शुक्रबार सुरु भएसँगै सभामुख चयनको विषयले प्राथमिकता पाएको खबर गोरखापत्र दैनिकमा छ । सभामुखको उम्मेदवारबारे राजनीतिक दलहरूबीच औपचारिक गृहकार्य भएको छैन ।

संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने व्यवस्था छ । हाल उपसभामुख नेकपाबाट तुम्बाहाङ्फे छिन् । सभामुख आफैँ राख्ने रणनीतिमा नेकपा छ । यसर्थ कम्तीमा पनि कार्यतालिका सार्वजनिकसँगै उपसभामुखको राजीनामा हुनेछ । सभामुखको उम्मेदवार भने सत्तारूढ दल नेकपाले टुंगो लगाएको छैन ।

उपसभामुखको अध्यक्षतामा अधिवेशन सुरु
सङ्घीय संसद्को पाँचौँ अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । सभामुखको अनुपस्थितिमा संविधानको धारा ९१ (४) को व्यवस्थाअनुसार उपसभामुखले बैठकको अध्यक्षता गरेकी हुन् । संविधान सभा÷व्यवस्थापिका, रूपान्तरित व्यवस्थापिका तथा सङ्घीय संसद्मा पहिलोपटक उपसभामुखले बैठकको सुरु र अन्त्य गरेकी हुन् । पछिल्लो डेढ दशकको अवधिमा सभाध्यक्षबाटै बैठकको सुरु र अन्त्य गर्ने गरिएको थियो । लामो समयपछि उक्त परम्परा अन्त्य भएको हो ।

प्रकाशित मिति : 07:06