माधव नेपाल भन्छन्, ‘मलाई किनारा लगाइँदै छ’
४ पुस, काठमाडौं । नेकपाका वरिष्ठ नेता माधव नेपालले पार्टी सचिवालयको निर्णयमा विमति कायमै राखेका छन् । जारी स्थायी समिति बैठकमा पार्टी सचिवालयले गरेका निर्णय अनुमोदन प्रस्ताव आएपछि नेता नेपालले असहमति कायमै रहेको प्रस्ट पारेका हुन् । उनले पार्टी नेतृत्वले आफूलाई किनारा लगाउन खोजेको भन्दै आपत्ति जनाएका छन् ।
कम्युनिस्ट पार्टी विधान, पद्धति, मापदण्ड र कमिटी प्रणालीका आधारमा चल्नुपर्नेमा त्यसो नभएको र सचिवालयले आफ्नो असहमतिविपरीत निर्णय गरेको नेता नेपालको भनाइ थियो ।
गत भदौ ३ मा उनले सचिवालयले गरेका निर्णयमा ७ बुँदे फरक मत राखेका थिए । ‘सचिवालयका कतिपय प्रस्तावमा मैले छुट्टै धारणा राख्दै आएकै छु । नोट अफ डिसेन्ट छँदै छ । अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा त्यसलाई अनुमोदन गर्नुपर्ने भनिएको छ । मेरो असहमतिसहित स्थायी समिति बैठकमा छलफल गरौं । छलफल नै नगरी अनुमोदन गरेमा मेरो सहमति हुँदैन,’ नेपाललाई उधृत गर्दै नेता विष्णुपुकार श्रेष्ठले भने । विधानविपरीत दोहोरो जिम्मेवारी अन्त्य गर्नुपर्ने, कसैलाई खातैखात, कसैलाई जिम्मेवारीविहीन बनाएर अपमानित गर्नु न्यायोचित हुँदैन भनेर आफूले पटक-पटक उठाएकाले त्यसमा असहमति कायमै रहेको नेपालको भनाइ रहेको खबर अन्नपूर्ण पोस्टमा छ ।
नेपालले भने, ‘मेरो प्रश्न छ– विधानको व्यवस्था लागू गर्ने कि नगर्ने ? मैले आरम्भदेखि नै यस्तो धारणा राख्दै आएको छु । सचिवालयले गरेका निर्णयमा मैले राखेको असहमति कायमै छ ।’ उनले प्रदेश इन्चार्ज बनाउँदा नै गण्डकी प्रदेश र प्रदेश ५ का इन्चार्जलाई मुख्यमन्त्री र पार्टी इन्चार्जको जिम्मेवारी दिएकोमा फरक मत राखेका थिए । नेकपाभित्र नेता नेपाललाई अहिले ‘प्रतिपक्षी’ नेताका रूपमा हेरिन्छ । सचिवालयको निर्णय अनुमोदनमा स्थायी समिति सदस्य वेदुराम भुसालले पनि फरक मत रहने बताएका थिए । भुसाल नेता नेपालनिकट मानिन्छन् ।
नेपालले पार्टी कमिटीदेखि पार्टी निकट सामाजिक संघसंस्थामा समेत समानान्तर कमिटी बनाउने र आफूलाई किनरा लगाउने नीति लिएको भन्दै नेतृत्वको गम्भीर ध्यानाकर्षण गराएका थिए । उनले भने, ‘जिल्लाजिल्लामा पार्टी पनि समानान्तर बनाउँदै जाने काम भएको छ । सामाजिक संघसंस्था पनि प्रायः समानान्तर बनाउँदै लगिएको छ । समानान्तर कमिटीमार्फत मलाई बहिष्कार गरिँदै छ । यही हो पार्टी विधि ? यही हो परिपाटी ? ’
आलोचना गर्नेलाई पूर्वाग्रही ढंगले निषेध गर्ने परिपाटी चलेको भन्दै उनले त्यसलाई सुधार गर्न आग्रह गरे । ‘हामी आलोचना गर्नेलाई निषेध गरेर जान थालेका छौं । आलोचनाले पार्टी सप्रिन्छ’, नेपालले भने । सरकारले प्रभावकारी काम गरेको कुरा पार्टीलाई भन्दा जनतालाई गएर बुझाउन उनले आग्रह गरे ।

‘सरकारले जुन काम गरेको छ, त्यो सबै मैले गरें भनेर पार्टी बैठकमा कन्भिन्स गरेर हुँदैन, जनता विश्वस्त छैनन्’, नेता नेपालले भने, ‘सरकारका काम कस्ता छन् मेरो क्षेत्रकै बाटो हेरे हुन्छ । प्रसूतिगृह जाने ठाउँमा तीनवटा खाल्टा छन् । एउटाले व्यथा लगाउँछ, अर्काले चर्को व्यथा पार्छ र तेस्रो खाल्टाले बच्चा जन्माइदिन्छ । अनि अस्पताल लग्नै पर्दैन भनेर मान्छेले व्यंग्य कसेका छन् ।’
प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको मर्म र महत्व बुझेमा मात्र सही विचार निर्माण गर्न सकिने बताए । उनले जनताको बहुदलीय जनवाद, नयाँ जनवाद भनेर होइन, यी पूरा भएपछि नयाँ ठाउँमा जाने भनेपछि पार्टी एकता भएकाले समाजवाद उन्मुख जनताको जनवादकै कार्यक्रममार्फत अगाडि बढ्नुपर्नेमा जोड गरे । श्रेष्ठले नेपालको राज्यसत्ता र समाजको चित्रण, लोकतन्त्रको मोडल, समृद्धि, समावादको मोडल र पार्टी कस्तो भन्नेबारे गम्भीर बहस गर्नुपर्ने भन्दै पाँचबुँदे छलफलका एजेन्डा पनि बैठकमा राखेका थिए ।
बिहीबारको बैठकको सुरुमै नेता भीम रावलले राजपासँग भएको सम्झौताको विरोध गरेका थिए । पार्टी स्थायी समिति बैठक छलेर बालुवाटारमा सम्झौता गरिएको भन्दै रावलले विरोध जनाएका थिए । ‘पार्टी बैठक भइरहेका बेला कुनै जानकारी नदिई बालुवाटारमा राजपासँग सहमति कसरी गर्नुभयो भनेर सुरुमा मैले कुरा उठाएँ त्यसपछि माधव नेपाल, वामदेव र युवराज ज्ञवालीले पनि कुरा उठाउनुभयो’, रावलले भने ।
अध्यक्ष दाहालले आफूले पनि बालुवाटार पुगेपछि मात्र सम्झौताका विषयमा जानकारी पाएको बताएका थिए । तर दाहालले अध्यक्षहरूले केही गर्ने हुन्न भन्ने यान्त्रिकताबाट पनि नहेर्न नेताहरुलाई आग्रह गरेको बैठकमा सहभागी एक नेताले बताए । नेकपा बैठक भोलि (शनिबार) बस्नेछ ।
प्रकाशित मिति : 06:53







