२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध

३ पुस, डोटी । सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमद्वारा वितरित इन्टरनेट सेवा (एडिएसएल) अवरुद्ध भएको छ । अप्टिकल फाइबरमा आएको खराबीका कारण यहाँको इन्टरनेट सेवा आज बिहानदेखि अवरुद्ध भएको टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाश चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बुटवलमा अप्टिकल फाइबरमा खराबी आएकाले इन्टरनेट सेवा अवरुद्ध भएको जानकारी आएको छ । सेवा सुचारु गराउन प्रविधिक टोली परिचालन भैसकेको छ ।”

इन्टरनेट सेवा अवरुद्ध भएपछि बैंकिङ कारोवारसमेत प्रभावित छ । सुदूरपश्चिमप्रदेशमा पटकपटक नेट सेवा अवरुद्ध हुँदा यहाँका स्थानीयलाई निकै सास्ती हुने गरेको छ । नेपाल टेलिकमको डोटीस्थित दिपायल राजपुर कार्यालयले ३०० जनालाई अति दु्रत गतिको इन्टरनेट सेवा फोरजी सेवाको सिमकार्ड निःशुल्करुपमा वितरण गरेको छ ।

जिल्लामा केही हप्ता पहिलेदेखि फोरजी सेवा शुरु भएपछि उक्त कार्यालयले पहिलो पटक दिपायलको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा ३०० जना नागरिकलाई निःशुल्करुपमा फोरजी सिमकार्ड वितरण गरेको नेपाल टेलिकमको डोटीस्थित दिपायल राजपुर कार्यालयका प्रमुख केशवराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “इन्टरनेटमा सबैको पहुँच होस् भनेर हामीले निःशुल्क सिमकार्ड वितरण गरेका छौँ, अधिकांशले लिएका छन् ।”

प्रकाशित मिति : December 19, 2019 at 2:00 pm