२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

कर्मचारी अभाव हुँदा सेवाग्राहीलाई सास्ती

३ पुस, डाेटी । जिल्ला प्रशासन कार्यालय डोटीमा कर्मचारी अभाव भएपछि सेवा प्रवाहमा समस्या भएको छ  । कर्मचारी अभावका कारण सरकारी सेवा लिन स्थानीयवासीलाई घण्टौं कुनुपर्ने बाध्यता भएको छ  । जिल्ला प्रशासन कार्यालयमा अहिले प्रमुख जिल्ला अधिकारी, चार नायब सुब्बा, दुई खरिदार र करारका एक कम्प्युटर अपरेटरमात्र कार्यरत छन् । कर्मचारी अभावका कारण सेवाग्राहीलाई समस्या उत्पन्न हुने गरेको छ ।

“कार्यालयमा दुई वटा प्रशासकीय अधिकृतको दरबन्दी छ, तर एक जना पनि प्रशासकीय अधिकृत नहुँदा आफू एक्लैले सबै जिम्मेवारी धान्नु परिरहेको छ”, प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले भन्नुभयो, “दरबन्दीअनुसारका कर्मचारी पठाएको छैन, प्राय सबै काम मैले धानेको छु, निकै समस्या भएको छ ।”

लामो समयदेखि विभिन्न दरबन्दीका कर्मचारी नहुँदा जनताका काम गर्नमा समस्या भइरहेको उहाँको भनाइ छ । नायब सुब्बाको सात दरबन्दीमध्ये तीन वटा लामो समयदेखि रिक्त रहेको छ । त्यस्तै कम्प्युटर अपरेटरको दुबै दरबन्दी रिक्त भएपछि करारमा नियुक्त गरेर कामकाज सञ्चालन भइरहेको प्रजिअ पौडेलले जानकारी दिनुभयो । त्यस्तै खरिदारको चार दरबन्दीमध्ये दुई रिक्त रहेका छन् ।

कार्यालयका लेखापाल भुवनप्रसाद भट्ट सरुवा भएपछि उक्त दरबन्दी पनि रिक्त भएको छ । दरबन्दीअनुसार कर्मचारी नहुँदा झेल्नुपरेको समस्याका विषयमा गृहमन्त्रालय र विभागमा जानकारी गराई कर्मचारी माग गरेको तर हालसम्म कर्मचारीको व्यवस्था भने नभएको पौडेलले जानकारी दिनुभयो । नागरिकता र राहदानी लिन दैनिक ५०÷६० जना सेवाग्राही जिल्ला प्रशासन कार्यालयमा आउने कम्प्युटर अपरेटर सुवास परियारले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्सिर महिनामा मात्रै कार्यालयबाट ८५० जनाले नेपाली नागरिकताको प्रमाण पत्र लिएका छन् ।

प्रकाशित मिति : December 19, 2019 at 10:47 am