२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

पहाडमा चिसो, तराईमा शीतलहर !

३ पुस, काठमाडौं बाक्लो हुस्सु र शीतलहरका कारण तराईका अधिकांश भेकको जनजीवन प्रभावित भएको छ । कठ्याङ्ग्रिँदो चिसोले झापादेखि कैलालीसम्मका तराईका सबै जिल्ला प्रभावित छन् ।

धेरै दिनसम्म घाम नलाग्नु, निरन्तर बाक्लो कुइरो लाग्नु, पानी परेझैं शीतका थोपा खस्नु र तापक्रम खस्किएर कठ्याङ्ग्रिने गरी जाडो हुनु नै शीतलहरको संकेत हो । नवलपरासीदेखि पश्चिमतर्फका तराईका भेगमा शीतलहरको असर प्रस्ट देखिएको र यस्तो असर मध्य तराईदेखि पूर्वतर्फ सर्ने क्रममा रहेको मौसमविद् बताउँछन् । मंगलबार बिहानदेखिको बाक्लु हुस्सु र शीतलहरले नेपालगन्ज, कैलाली र आसपासका जिल्ला प्रत्यक्ष प्रभावित भएको खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

बुधबार बिहान आंशिक प्रभाव मात्रै रहे पनि दिउँसो भने शीतलहरको प्रस्ट असर देखिएको नेपालगन्ज, राझाँस्थित हावापानी फिल्ड कार्यालयले जनाएको छ । ‘बिहान त्यस्तो ठूलो असर देखिएको थिएन, आज दिउँसो भने पानी परेझैं शीतलहर चल्यो, त्यसैले अहिले चिसो निकै बढेको छ,’ कार्यालय प्रमुख प्रकाश विश्वकर्माले भने ।

तराईका भू-भागमा निरन्तर ४८ घण्टा वा सोभन्दा बढी अवधिसम्म घाम नदेखिने अवस्था बनेको खण्डमा त्यस्तो अवस्थालाई मौसमविद्हरू शीतलहरका रूपमा बुझ्ने गर्छन् ।

निरन्तरको बाक्लो हुस्सुसँगै औसत तापक्रम एकैदिन १० डिग्री हाराहारीमा झरेको अवस्थामा शीतलहर घोषणा गर्ने गरिन्छ । बाक्लो हुस्सुका कारण कर्णाली प्रदेशको मुख्यालय सुर्खेत र आसपासका भेकमा मंगलबारदेखि मौसम प्रभावित बनेको छ ।

मौसमले हवाई भिजिबिलिटी घटेपछि बुधबार काठमाडौं-पोखरा र काठमाडौं-सुर्खेतको हवाई सेवा प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ब्रिफिङ शाखाले जनाएको छ ।

प्रकाशित मिति : December 19, 2019 at 8:03 am