२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

कर्मकाण्डी नै सही, आज त्रिविको ४५औं दीक्षान्त !

३ पुस, काठमाडौं त्रिभुवन विश्वविद्यालयको ४५औँ दीक्षान्त समारोह पनि परम्परागत रूपमै आज हुँदै छ । विश्वविद्यालय पदाधिकारीका हातबाटै प्रमाणपत्र लिने पश्चिमा परम्परा भए पनि नेपालमा (विशेषगरी त्रिविमा) त्यस्तो अभ्यास छैन  ।

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले दीक्षान्तमा सर्वोत्कृष्ट विद्यार्थीलाई प्रमुख अतिथि तथा पदाधिकारीले हातमै प्रमाणपत्र दिने र बाँकीलाई काउन्टरबाट वितरण गरिने बताउँदै भने, ‘विद्यार्थी धेरै छन्  । सबैलाई पालैपालो प्रमाणपत्र दिन सम्भव हुँदैन  ।’

दुई साताअघि त्रिवि सभामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एकैपटक दीक्षान्त समारोहको आयोजना गर्ने विधि ठीक होइन भन्दै त्रिविले यसलाई औपचारिक कर्मकाण्डका रूपमा र विद्यार्थीले पनि सामाजिक सञ्जालमा गाउन लगाएको तस्बिर राख्ने माध्यम बनाउन नहुने बताएका थिए ।

हुन पनि यस्तै छ त्रिविको चलन । मात्र देखाउने, तस्बिर खिच्ने कर्मकाण्डी पाराकै । त्रिविले विद्यार्थीलाई भेला गर्ने र भीडलाई ‘प्रतीज्ञा गर्छु’ भन्न लगाएर दीक्षान्त समारोह सक्ने गर्छ । आज पनि यही तयारी छ ।

कहिले कीर्तिपुर र कहिले दशरथ रंगशालामा आयोजना गरिएको दीक्षान्त समारोह गत वर्षजस्तै यसपटक पनि पुल्चोक इन्जिनियरिङ क्याम्पस परिसरको खेल मैदानमा आयोजना हुँदै छ । पनिकाका अनुसार यसपटक दीक्षान्त समारोहमा सहभागी हुन ७० हजार ७७ विद्यार्थी योग्य भए पनि १० हजार १ सय ८३ विद्यार्थीले मात्र फाराम भरेका छन् । गत वर्ष पनि ७४ हजार २ सय ८६ विद्यार्थी योग्य भए पनि ९ हजार ५ सय २० जनाले फाराम भरेका थिए  ।

दीक्षान्तको तरिकाप्रति इच्छा नजनाएर अधिकांश विद्यार्थीले फाराम भर्नेसमेत गरेका छैनन्  । अनलाइनबाट फाराम भर्ने व्यवस्था गरेकाले गत वर्षबाट सहभागी हुनेहरू बढेको परीक्षा नियन्त्रक जोशीको दाबी छ । यसपटक ७ हजार अभिभावक उपस्थित रहने अनुमान छ  ।

त्रिविले यसपटकको दीक्षान्तमा विशेष अतिथिका लागि बंगलादेशको ढाका विश्वविद्यालयका उपकुलपति प्राडा मोहम्मद अतिरुज्मानलाई आमन्त्रण गरेको छ  । नेपालमा २०१४ चैत २२ गते पहिलो दीक्षान्त समारोहको आयोजना गरिएको थियो ।

प्रकाशित मिति : December 19, 2019 at 7:15 am