१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

उच्च शिक्षामा मुक्त कमलरी

३ पुस, देउखुरी । कुनै समय अर्काको घरमा काम गरेर जीवन गुजारा गर्दै आएका पूर्वकमलरीहरूले अब भने आफ्नो शैक्षिक योग्यताको विकास गर्न थालेका छन् । कमलरी जीवन त्यागेसँगै आफूले निर्णय लिने स्वतन्त्रता पाएका पूर्वकमलरीहरू सामान्य मात्र नभएर उच्च शिक्षा अध्ययन गर्न थालेका हुन् ।

विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको पहलमा पूर्वकमलरीहरूले शिक्षा क्षेत्रमा प्रगति गर्न थालेको खबर गोरखापत्र दैनिकमा छ । लमही नगरपालिका सतबरियाकी विष्णु चौधरी पूर्वकमलरी हुन् । उनले शिक्षा संकायमा स्नातकोत्तर अध्ययन पूरा गरिसकेकी छन् । अहिले कानुन विषय लिएर पनि स्नातक तह दोस्रो वर्षमा पनि अध्ययन गरिरहेकी छन् ।

लमही घर भए पनि कुनै समय उनी घोराही बजारको एउटा घरमा भाँडा माझ्ने काम गर्थिन् । “परिवारका अन्य दिदीबहिनी पनि अरूकै घरमा भाँडा माझ्ने र गोठालो जाने काम गर्थे । पढाइदिन्छु भनेर साहूले घरको काम गराउन लगे तर पढ्नेभन्दा काम धेरै गर्नुपर्थ्यो,’ पूर्वकमलरी विष्णुले भनिन् ।

कमलरी जीवन त्यागेपछि २०६१ मा दाङकै राप्ती मावि उचानिम्बुमा भर्ना भएर उच्च शिक्षासमेत लिइन् । उनीजस्तै पश्चिम नेपालका धेरै मुक्त कमलरी उच्च शिक्षामा अध्ययनरत छन् ।

मुक्त कमलरी विकास मञ्चले दिएको जानकारीअनुसार अहिलेसम्म कमलरी मुक्त गरिएको जिल्ला दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका १० मुक्त कमलरी स्नातकोत्तर तहमा अध्ययनरत छन् । १ सय ९१ जना स्नातक तहमा अध्ययनरत छन् । यस्तै ६ सय ८६ जना दस जोड दुई र २ सय ९६ जना कक्षा १० मा अध्ययनरत छन् । तीमध्ये दाङमा ४ सय ८७, बाँकेमा ६७, बर्दियामा ३ सय ९५, कैलालीमा ४ सय ३३ र कञ्चनपुरमा १ सय ५१ जना विद्यालय तहमा अध्ययन गरिरहेका छन् । विकास मञ्चका अनुसार दाङ देउखुरीमा सबैभन्दा बढी ५ हजार ५ सय मुक्त कमलरी छन् ।

मुक्त कमैया विकास मञ्च अध्यक्ष शान्ति चौधरीले विपन्न अवस्थाका मुक्त कमलरीलाई अझै पनि सरकारले सम्झौता गरेअनुसारको शिक्षामा छात्रवृत्ति नदिएको गुनासो गर्छिन् । मुक्त कमलरीले अध्ययनार्थ स्नातक तहमा वार्षिक १० हजार, प्रवीणता प्रमाणपत्र तहमा ५ हजार, मावि तहमा १ हजार ८ सय तथा प्रावि र निमाविसम्मलाई १ हजार ५ सय रुपैयाँ छात्रवृत्ति पाउँदै आएका छन् ।

प्रकाशित मिति : ३ पुष २०७६, बिहीबार ०६:५५