पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा डा खतिवडा नियुक्त
२ पुस, काठमाडाैँ । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा डा घनश्याम खतिवडा नियुक्त हुनुभएको छ । कोष सञ्चालक परिषद्का अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा आज बसेको बैठकले कार्यकारी निर्देशकमा चार वर्षका लागि खतिवडालाई नियुक्त गरेको कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो ।
खतिवडाले आजै पशुपति वनकालीस्थित कोषको कार्यालयमा गई पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहणपछि रासससँग कुरा गर्दै उहाँले चारवर्षे कार्यकालमा पशुपति क्षेत्रको समग्र विकासमा सरोकार भएका निकायबीच समन्वयात्मक तरिकाले काम गर्ने प्रतिबद्धता जनाउनुभयो । नेपाल संस्कृत विश्वविद्यालयबाट ‘महाकवि अश्वघोष विरचित बुद्ध चरित महाकाव्यमा रस विधान’ विषयमा डा खतिवडाले विद्यावारिधि गर्नुभएको छ ।

यसअघिका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीको पदावधि गत असोजमै सकिएको थियो । परिषद् बैठकमा नेपाल भ्रमण वर्ष २०२० मा पशुपति क्षेत्रमा धेरैभन्दा धेरै धार्मिक पर्यटक भित्र्याउन के गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको सञ्चालक सदस्य आशा पाण्डेले बताउनुभयो । उहाँको नेतृत्वमा आज कोषका महिला कर्मचारीको सहभागितामा पशुपतिस्थित वनकाली क्षेत्रमा सफाइ पनि गरिएको थियो ।
पशुपति क्षेत्रलाई स्वच्छ, सफा र पवित्र राख्न कोषका तर्फबाट पहल गरिरहने सदस्य पाण्डेले बताउनुभयो । भ्रमण वर्षका अवसरमा पशुपति क्षेत्र प्रवेश गर्ने नाका नाकामा सफाइ अभियानलाई तीव्रता दिइने जनाइएको छ ।
प्रकाशित मिति : December 18, 2019 at 7:32 pm









