बहालवाला मन्त्रीले गरे सरकारमाथि यस्तो कटाक्ष !
२ पुस, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा पार्टी एकता र सरकार गठनको २ वर्ष सन्तोषजनक नभएको भन्दै नेताहरूले नेतृत्वलाई जनताप्रति उतरदायी हुन सुझाव दिएका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार बसेको बैठकमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावप्रति आफ्नो धारणा राख्दै नेताहरूले पार्टी र सरकार सञ्चालन सम्बन्धमा असन्तुष्टि व्यक्त गरेका हुन् ।

नेकपा स्थायी कमिटीका सदस्य एवं कृषिमन्त्री घनश्याम भुसालले बैठकमा पार्टी एकता र सरकार गठनको दुई वर्ष सन्तोषजनक नभएको टिप्पणी गरेको खबर राजधानी दैनिकमा छ । पार्टी र सरकार सञ्चालन सम्बन्धमा असन्तुष्टि व्यक्त गर्दै भुसालले नेतृत्वलाई जनताप्रति उत्तरदायी हुन सुझाव दिए ।
‘२ वर्षलाई हेर्दा निर्वाचन जित्नु र बहुमतको सरकार बनाउनु नै सबैभन्दा ठूलो कुरा हो, सबै समस्याको समाधान हो भन्ने कोणबाट हामीले जनतालाई प्रशिक्षित गर्दै छौं भन्ने देखिन्छ । कमरेडहरू ! खासगरी नेतृत्वका कमरेडहरू ! उत्तेजनाहीन र आग्रहहीन भएर धर्ती टेकौं !’ भुसालले पेस गरेको लिखित सुझावमा उल्लेख गरिएको छ ।
क्रान्तिसम्बन्धी सिद्धान्त र मान्यता राजतन्त्रविरुद्ध जनवादी क्रान्तिका लागि विकसित र अभ्यास गरिएको बताउँदै उनले त्यो क्रान्ति नै सम्पन्न भइसकेपछि र नयाँ कार्यभार अगाडि आइसकेपछि अब नेकपाले जुन नयाँ उचाइबाट विचार र संगठनलाई विकसित गर्नुपर्थ्यो त्यो हुन नसकेकाले सबै क्षेत्रमा नयाँ-नयाँ समस्या देखापरिरहेको बताए ।
एउटा राजनीतिक पार्टीले अनगिन्ती समस्या सामना गर्नुपर्ने तर तिनको अध्ययन र समाधान भने विचार र संगठनको एउटा निश्चित ढाँचाबाट हुने गरेको बताउँदै भुसालले नेकपालाई नयाँ ढाँचामा उभ्याउन नेतृत्वले हिम्मत गर्नुपर्ने सुझाव दिए ।
‘राजनीतिक पार्टी सत्तामा पुगेपछि जनतासँग आफैंले गरेका वाचाहरूको कठिनतम परीक्षामा सामेल हुन्छन् । आज हामी त्यही परिक्षामा छौं । गएका दुई वर्ष हामी अलमलिएको जस्तो देखिएका छौं । बाँकी समयको हरेक क्षण हाम्रा लागि असाधारण महत्वका छन्,’ भुसालले आफ्नो सुझावमा उल्लेख गरेका छन् ।
‘हरेक क्रान्तिको वास्तविक अनुहार क्रान्तिपछि देखिन्छ । क्रान्तिका उपलब्धिबाट बढी उत्साहित क्रान्तिकारीहरूले भविष्यका चुनौतीलाई नजरअन्दाज गर्दा र झन् ठूला कार्यभार नदेख्दा क्रान्ति ओरालो लाग्न थाल्छन् । अर्थात् क्रान्ति गर्नु महत्वपूर्ण छ तर क्रान्तिलाई जोगाउनु अझ महत्वपूर्ण छ । किनकि क्रान्तिकारी हुनुभन्दा क्रान्तिकारी भइरहनु धेरै गाह्रो हुन्छ,’ उनले भनेका छन् ।
प्रकाशित मिति : 07:47







