२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

२ पुस, काठमाडौं राजधानीका चोकहरूमा राखिएका ट्राफिक बत्ती नियमित सञ्चालन नहुँदा यहाँको एउटा पुस्ता नै ट्राफिक बत्ती नदेखी हुर्कने सम्भावना देखिएको छ । हाल विद्यालयमा अध्ययनरत विद्यार्थी ट्राफिक बत्तीको निर्देशनअनुसार सवारीसाधन चलेको नदेखी नै हुर्कने स्थिति देखिएको हो ।

थापाथलीकी अञ्जली गिरी कुपण्डोलको प्रगति शिक्षा सदनमा कक्षा १० मा अध्ययन छिन् । ५ वर्ष भयो उनी थापाथली चोक हुँदै विद्यालय जान थालेको । “कहिलेकाहीँ बिहान रातो मात्र बलेको देखिन्छ”, उनले भनिन्, “तीन थरीकै बत्ती बलेको सम्झना छैन । ट्राफिक बत्तीले गाडीलाई रोकेको दृश्य अहिलेसम्म देख्न पाएकी छैन ।”

स्कुले विद्यार्थीले कक्षा ५ को सामाजिक शिक्षा विषयमा ट्राफिक बत्तीबारे पढेका छन् । ट्राफिक बत्तीबारे परीक्षामा सोधिएको प्रश्नको उत्तर पनि लेखेका छन् तर वास्तविक रूपमा उनका लागि जिज्ञासाकै विषय बन्न पुगेको खबर गोरखापत्र दैनिकमा छ । थापाथलीको गुह्येश्वरी बाल शिक्षा माविमा कक्षा ६ का विद्यार्थी सीताराम गिरीलाई पनि ट्राफिक बत्ती कसरी बल्छ र त्यसले गाडीलाई कसरी रोक्न सक्छ भन्नेबारे कौतुहलको विषय बनेको छ । “सरले तीनवटा रङका ट्राफिक बत्ती बल्छन् भनेर सिकाउनुभएको छ” उनले भने, “तर कहीँ पनि बत्ती बलेको देख्न पाएको छैन ।”

उपत्यकाभित्रका अधिकांश ट्राफिक बत्तीले नियमित काम गरेको पाइँदैन । आक्कलझुक्कल मात्र सञ्चालन हुने यी बत्ती नियमित नभएको करिब १० वर्ष बितिसकेको छ । हातको इशारा र सिट्ठीका भरमा सवारी साधनको व्यवस्थापन गर्दै आएका ट्राफिक प्रहरीलाई केही समयअघि हातमा ‘गो र स्टप’ लेखिएको बोर्ड थमाइएको छ । ट्राफिक बत्ती नहुँदा उता ट्राफिक प्रहरीलाई पनि हैरानै छ । थापाथलीको ट्राफिक प्रहरी प्रभागका ट्राफिक प्रहरी शान्तिप्रसाद खनालले सुरुसुरुमा काँध दुःख्ने गरेको स्मरण गरे । उनले भने, “पहिले त मालिस गर्नुपर्ने अवस्था थियो । ट्राफिक लाइट भइदिएको भए हामीलाई निकै सहज हुने थियो ।”

महानगरीय ट्राफिक वृत्त सिंहदरबारमा ट्राफिक प्रहरी जितबहादुर खत्री अब त ट्राफिक प्रहरीलाई बत्तीका बारेमा भन्दा पनि हातको इशारा बारेमा तालिम दिन थालिएको बताए । ‘गो र स्टप’ बोर्डले केही सजिलो भए पनि सवारी चालकलाई हतार हुनु र ट्राफिकले रोक्दा रोक्दै पनि बत्तासिएर अगाडि बढ्ने प्रवृत्तिले सवारी व्यवस्थापन गर्न हम्मेहम्मे नै पर्ने गरेको उनको अनुभव छ ।

अहिले कलङ्कीदेखि कोटेश्वरसम्मको चक्रपथ सुधार भएपछि सवारी साधनको चाप त्यस सडकमा उल्लेख्य बढेको छ र यसले गर्दा विभिन्न चोकमा ट्राफिक व्यवस्थापनको समस्या बढ्दै गएको छ । विभागको सडक सुरक्षा तथा ट्राफिक शाखाका इन्जिनियर बन्दना आचार्यले ती सबै स्थानका बत्ती मर्मत गरेपश्चात् ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिसकिएको बताउँदै भनिन्, “हामीले मर्मत गरिदिइसक्यौँ । अब बाल्ने जिम्मा उहाँहरूको हो ।”

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भीम ढकालले औपचारिक रूपमा सडक विभागले आफूहरूलाई मर्मत गरिएका स्थानको बत्ती हस्तान्तरण नगरेको बताए ।

प्रकाशित मिति : December 18, 2019 at 6:05 am