दुर्घटना न्यूनीकरणका लागि मुख्यमन्त्री पौडेलको पहल
३० मंसिर, हेटाैँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशभित्र दिनहुँजसो भइरहेको सवारी दुर्घटना न्यूनीकरणका लागि पहल थाल्नुभएको छ । पौडेलले आज सरोकारवालाको विशेष बैठक बोलाएर सवारी दुर्घटनामा परी दिनहुँ मान्छे मारिँदा र घाइते भइरहँदा सरकार चुप लागेर बस्न नसक्ने भन्दै तत्काल रोकथामका उपाय अपनाउन निर्देशन दिनुभयो ।

बैठकमा प्रदेशसभा सदस्य दीपक निरौलाले दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवस्था कार्यालय तथा ट्राफिक प्रहरी र सडक डिभिजन कार्यालय समेतको तालमेलमा विशेष पहल गरिनुपर्ने बताउनुभयो । भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तेजराज भट्टले प्रदेश ३ को राजधानी हेटौँडा र अन्य जिल्लामा बढिरहेको दुर्घटना कम गर्न विशेष कार्यदल गठन गरेर रायसुझाव लिइने बताउनुभयो ।
प्रदेश–३ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेतले पुरानो गाडी नियन्त्रण गरेर तथा सिट क्षमता भन्दा बढी यात्रु बोक्न नदिएर दुर्घटनालाई कम गर्न प्रहरी लागिपरेकोे बताउनुभयो । सो अवसरमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकेशकुमार सिंह र प्रदेश ३ ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख जीतेन्द्रकुमार बस्नेतले सडकको खराबी, सवारी चाप तथा लामो दूरीमा सवारी चालक परिवर्तन गरिनुपर्ने नियमको पूर्णरुपमा कार्यान्वयन गराउन नसकिँदा दुर्घटनाका घटनामा वृद्धि भएको उल्लेख गर्नुभयो ।
प्रकाशित मिति : 18:13









