चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने
३० मंसिर, काठमाडाैँ । नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै भट्टराईको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने जनाएको छ ।

भट्टराईको पार्थिव शरीरलाई अहिले श्रद्धाञ्जलीको लागि चलचित्र विकास बोर्डको प्राङ्गणमा राखिएको छ । भट्टराईको आजै पशुपतिमा दाहसंस्कार गर्ने तयारी छ । भट्टराईको आइतबार राति सवा १० बजे निधन भएको हो । स्वास्थ्यमा अचानक समस्या आएपछि उहाँलाई उपचारका लागि ओम अस्पताल लगिएको थियो ।
अस्पताल पुर्याउनुअघि नै उहाँको निधन भैसकेको डाक्टरले बताएका छन् । ५२ वर्षीय भट्टराईकी श्रीमती र एक छोरा छन् । तीन दशकदेखि अभिनय र सिनेमा निर्माणमा सक्रिय रहँदै आएका भट्टराईले पछिल्लो पटक ‘यात्रा’ नामक सिनेमा बनाउनु भएको थियो । उहाँले ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’, ‘कर्मयोद्धा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’ लगायतका सिनेमा निर्माण गर्नुभएको थियो ।
प्रकाशित मिति : December 16, 2019 at 2:20 pm










