कांग्रेसभित्र शक्ति संघर्ष : पौडेल समूहद्वारा बैठक बहिष्कार
३० मंसिर, काठमाडौं । नेपाली कांग्रेसभित्र अब हुने १४औं महाधिवेशनलक्षित शक्ति संघर्ष तीव्र रूपमा बढेको छ । आगामी फागुनमा चारवर्षे कार्यकाल सकिन लाग्दा संस्थापन पक्ष र अर्को पक्षबीच शक्ति आर्जन गर्ने होडबाजीमा शक्ति संघर्षले उचाइ लिएको हो ।
संस्थापन पक्ष अरू एक वर्ष अवधि थप्न चाहन्छ भने अर्को पक्ष कार्यतालिकासहित महाधिवेशन गराउने सर्तमा मात्रै अवधि थप्नुपर्ने अडानमा छ । महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने पक्षमा चर्को दबाब दिँदै आएको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकलाई बहिष्कार गरेको खबर गोरखापत्र दैनिकमा छ ।
अघिल्लो बैठकमा पौडेल पक्षका दुई नेता आएर महाधिवेशनको कार्यतालिका आउनुपर्ने अडान राख्दै बाहिरिए पनि आइतबारको बैठकमा कोही पनि उपस्थित हुनुभएन । त्यति मात्र होइन, केन्द्रीय कार्यसमितिको बैठक चलिरहँदा वरिष्ठ नेता पौडेल भने उपत्यकाबाहिर छन् । कुल ८४ सदस्यीय कार्यसमितिको बैठकमा बहुमत सदस्य उपस्थित भएको जानकारी पार्टी सचिवालयले दिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले विभिन्न विषयमा छलफल गरी निर्णय पनि सार्वजनिक गरेको छ । तर संगठनलाई दूरगामी असर पर्ने खालका निर्णय भने गरिएको छैन । बैठकमा उपसभापति विमलेन्द्र निधिले शनिबार राति दुवै पक्षबीच भएको छलफल सहमतिनजिक पुगिएको जानकारी गराए । सभापति देउवाले उपसभापति निधिलाई सहमतिको वातावरण बनाउने जिम्मेवारी सुम्पिएका छन् ।
यसैगरी उपसभापति विजयकुमार गच्छदार एवं केन्द्रीय सदस्यद्वय बालकृष्ण खाँण र रमेश लेखकले सरकारका गतिविधि, सङ्घीय संसद्को अधिवेशन, उपनिर्वाचनको नतिजा, पार्टीका गतिविधिबारे बैठकलाई जानकारी गराएका थिए । बैठकपछि केन्द्रीय सदस्य खाँणले कांग्रेसमा सहमति जुट्छ र एकढिक्का भएर अगाडि बढ्छ, त्यसका लागि छलफल चलिरहेको जानकारी दिए ।
बैठकले मंसिर २७ गते राति धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५, महेन्द्रनगरमा बम विस्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहाल र अन्य दुई नागरिकको मृत्यु भएको घटनाको भर्त्सना गरेको छ । यसैगरी पछिल्लो समयमा दुर्घटना बढ्दै गएकाले नियन्त्रणका लागि गम्भीर पहलकदमी गर्न सरकारसँग अपिल पनि गरेको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार अर्को बैठक आज (सोमबार) पुनः बस्ने छ ।
प्रकाशित मिति : 06:19







