बालमैत्री नगर बनाउने वेशीसहर नगरपालिकाको प्रतिवद्धता
२९ मंसिर, लमजुङ । बालमैत्री स्थानीय शासन सम्वन्धि १ दिने अभिमुखीकरण गोष्ठी वेशीसहरमा सम्पन्न भएकोछ । अभिमुखीकरण कार्यक्रम वेशीसहर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र पत्रकारहरुको सहभागिता भएको थियो । गोष्ठीको समन्वय वेशीसहर नगरपालिका र बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च काठमाण्डौले गरेको थियो । त्यसै गरि गोष्ठीको आयोजना ग्रामीण सामुदायिक विकास केन्द्र लमजुङ र आर्थिक सहयोग वल्र्ड भिजन इन्टरनेशनल नेपालले गरेको थियो ।
कार्यक्रममा वेशीसहर नगरपालिकाको प्रमुख, उपप्रमुख र कार्यपालिकाका सदस्यहरु गरि १७ जना, शिक्षा र स्वास्थ्य शाखाको प्रमुखहरु, नगरप्रमुखको प्रेस सल्लहाकार, कार्यक्रम अधिकृत, पत्रकार लगायत आरसीडिसी र वल्र्ड भिजन इन्टरनेशनल गरि ३६ जनाको सहभागिता रहेको थियो । यस कार्यक्रमको अध्यक्षता वेशीसहर नगरपालिकाको उपप्रमुख एवं स्थानीय बालमैत्री शासन समन्वय समितिको संयोजक लक्ष्मी देवी अधिकारीले गर्नुभएको थियो ।

त्यसै गरि कार्यक्रमको प्रमुख अतिथि वेशीसहर नगरपालिकाका प्रमुख गुमान सिंह अर्याल रहनु भएको थियो । कार्यक्रम संचालन आरसीडिसीका फिल्ड अधिकृत सोवित बहादुर थापाले गर्नु भएको थियो भने सहभागीहरुलाई स्वागत र गोष्ठीको उद्धेश्य माथि आरसीडिसीका अध्यक्ष राजेन्द्र वोहराले प्रकाश पार्नुभएको थियो । त्यसै गरि बाल संरक्षणको बारेमा वल्र्ड भिजन इन्टरनेशनल नेपाल केन्द्रिय कार्यालय काठमाण्डौको बाल संरक्षण संयोजक निर्मला के.सी.ले सहजीकरण गर्नुभएको थियो ।
नेपालको संविधान २०७२, बालमैत्री स्थानीय शासनः राष्ट्रिय रणनीति २०६८, बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि —२०६८ साथै बालमैत्री स्थानीय निकाय घोषणा कार्यविधि २०७० को सहजीकरण बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चका संयोजक तिलोत्तम पौडेलले गर्नुभएको थियो । त्यसै गरि बालबालिका सम्वन्धि ऐन र अन्य कानुनी प्रावधानहरुको बारेमा छलफल गरिएको थियो । बालमैत्री स्थानीय शासनः राष्ट्रिय रणनीति २०६८ परिच्छेद — ५ को दफा १८ मा व्यवस्था भएका उपलब्धी मापनका न्युनतम सुचकहरुको बारेमा छलफल गरिएको थियो । बालमैत्री स्थानीय शासन लागु भएको घोषणा हुन ३९ वटा सुचकहरु पुरा भएको हुनुपर्दछ जानकारी गराईएको थियो ।
कार्यक्रममा वेशीसहर नगरपालिकाका प्रमुख गुमान सिंह अर्यालले वेशीसहर नगरपालिकालाई बालमैत्री स्थानीय शासन लागु भएको पालिका घोषणा गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । यस आ.व.मा वल्र्ड भिजन इन्टरनेशनल नेपाल र आरसीडिसीको सामाजिक परिचालनमा वडा नं. १ र ६ लाई बालमैत्री स्थानीय शासन लागु भएको घोषणा गर्ने र यी वडाहरु घोषणा गर्दा भएका सिकाईहरुको आधारमा आगामी आ.व.हरुमा अन्य वडाहरु घोषणा गर्न स्रोत परिचालन गर्ने जानकारी गराउनु भएको थियो ।
वेशीसहर नगरपालिकालाई बाल हित अनुकुल बनाउन बालबालिका सम्वन्धि ४ वटा निर्देशिकाहरु बनाईएको जानकारी गराउनु भयो । वेशीसहर नगरपालिकाले बनाएको शिक्षा सम्वन्धि निर्देशिकामा बालबालिकाको सहभागिता वढाउन विद्यालय व्यवस्थापन समितिमा बालबालिकाको सहभागिता सुनिश्चिता र जोखिममा परेका बालबालिका लाई पोषण सहयोग गरेको जानकारी गराउनु भयो । त्यसै गरि वडा नं.१ र ६ का वडा अध्यक्षहरुलाई बालमैत्री वडा घोषणा प्रक्रिया अगाडी वढाउन कटिवद्ध भई लाग्न निर्देशन दिनु भएको थियो । यस्ता अभियानहरु संचालन गर्न इन्छा शक्ति आवश्यक पर्दछ ।
इच्छा शक्ति भएमा स्रोतको समस्या हुदैन भन्दै सरोकारवालाहरुलाई विश्वस्त बनाउनु भएको थियो । कार्यक्रमको अध्क्षता गरिरहनु भएको वेशीसहर नगरपालिकाको उपप्रमुखले आफु बालमैत्री स्थानीय शासन समन्वय समितिको संयोजक भएको हुदा हाम्रै कार्यकालमा वेशीसहर नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने कार्ययोजना वनाउने र घोषणा कार्यविधि कार्यान्वयनको लागि आवश्यक पर्ने स्रोत व्यवस्थापनमा निरन्तर लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
वेशीसहर नगरपालिकाको निर्णय वमोजिम वडा नं. १ र ६ लाई बालमैत्री स्थानीय शासन लागु भएको वडा घोषणाको तयारी सन्र्दभमा भएका प्रयासहरुको जानकारी एवं घोषणा कार्यविधिको वारेमा दुवै वडामा सहजीकरण गरिएको थियो । वडा नं. १ र ६ को वडा कार्यालयमा वडा स्तरीय बालमैत्री स्थानीय शासन समन्वय समितिका संयोजक एवं वडा अध्यक्ष श्री बलराम श्रेष्ठ र भोज वहादुर रिमालको अध्यक्षतामा भएको छलफल कार्यक्रमको सहजीकरण ग्रामीण सामुदायिक विकास केन्द्रका संयोजक तिलोत्तल पौडेलले गर्नुभएको थियो ।
यस कार्यक्रममा जनप्रतिनिधि, विद्यालयका शिक्षकहरु, बालक्लवका प्रतिनिधिहरु, सामुदायिक संस्थाको प्रतिनिधिहरु, स्वास्थ्य चौकीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम आरसीडिसीका फिल्ड अधिकृत वाट संचालन भएका थिए । त्यसै गरि कार्यक्रम संयोजन र व्यवस्थापन आरसिडिसीकै तालिम संयोजक रेणु शाही ठकुरीले गर्नु भएको थियो । दुवै वडाहरुको छलफल कार्यक्रममा वल्र्ड भिजन इन्टरनेशनल नेपाल केन्द्रिय कार्यालय काठमाण्डौको बाल संरक्षण संयोजक निर्मला के.सी.र ग्रामीण सामुदायिक विकास केन्द्र काठमाण्डौ सुमिक्षा खडका को सहभागिता रहेको थियो ।
प्रकाशित मिति : December 15, 2019 at 3:04 pm










