२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

यसरी हुन्छ अनलाइनबाटै ठगी !

२९ मंसिर, काठमाडौं । ‘प्रिय (डियर) लक्ष्मी, एक करोड यूएस डलर चिठ्ठा परेकामा बधाई छ’ भाइबरबाट यस्तो सूचना आएपछि नयाँ बानेश्वरकी लक्ष्मी राईका लागि खुसीको सीमा रहेन । भाइबर अपलोड गरेको साता दिन नबित्दै यस्तो खबर पाउँदा सामान्य गृहिणी राईले आफ्नो भाग्य चम्किएको अनुभूति गरिन् ।

अज्ञात व्यक्तिको निर्देशनअनुसार, उनले चिठ्ठा रकम प्राप्त गर्न बैंक खाता खोल्नेदेखि राजस्व शुल्कका नाममा १ लाख भारु आईएमई गरी भारत पठाइन् । यतिको शुल्क तिर्दा पनि चिठ्ठा वापतको रकम पाउनु त कता हो कता उल्टै खातामा रहेको रकमसमेत अर्कैले निकालेको चाल पाएपछि भने उनका लागि भाइबरमा आएको सूचना खुसीमा नभई पीडामा परिवर्तन भयो ।

त्यस्तै मखनमा सैलुन पसल सञ्चालन गर्दै आएका प्रवीन ठाकुरलाई पनि ३ महिनाअघि इमोबाट यस्तै सूचना आयो । अज्ञात व्यक्तिले अङ्ग्रेजी भाषामा पठाएको सूचना पढ्न उनले अर्कैको सहयोग लिनुपर्ने बाध्यता पर्‍यो । इमोको सूचना अनुसार ठाकुरलाई सुरुमा  सय डलर जम्मा गर्न लगाइएको थियो । उनले भने, ‘पसलको भाडा तिर्न बाँकी राखी सय डलर बेलायतमा रहेको अज्ञात व्यक्तिलाई आईएमई गरी पठाइदिएँ ।’

त्यसपछि पनि चिठ्ठाको रकम भारतमा रोकियो भनेपछि सोही निर्देशनअनुसार थप ५० हजार भारु मुम्बईमा रहेको अर्को व्यक्तिलाई आईएमई गरी पठाए । चिठ्ठा कुर्दा कुर्दै ऋण लाग्यो तर नगद आएन । पीडित ठाकुर भन्छन्, “नमज्जाले ठगिएछु ।” सामाजिक सञ्जाल भाइबर, वाट्सएप, इमो, फेसबुक र इमेल प्रयोग गरी अनलाइन चिठ्ठाका नाममा शान्ति राई र प्रवीन ठाकुरजस्तै १४ पीडित आफू ठगिएको उजुरी बोकेर महानगरीय प्रहरी अपराध महाशाखा टेकु पुगेका छन् ।

अपराध महाशाखाका अनुसार, चिठ्ठा ठगीमा अन्तर्राष्ट्रिय गिरोहको संलग्नता देखिएको छ । यो समूहले यसअघि कृषि विकास बैंक र पानस रेमिटेन्स ह्याक गरी चार करोडभन्दा बढी रकम झिकेको थियो । विशेष गरी सामाजिक सञ्जालबाट साथी बन्नेहरू बढी ठगिएको खबर गोरखापत्र दैनिकमा छ ।

महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सहकुल थापाले सामाजिक सञ्जाल तथा अनलाइन ठगीको अनुसन्धान गर्दै जाँदा कृषि विकास बैंक र पानस रेमिटेन्स ह्याकिङमा संलग्न थप अर्को समूह पक्राउ गरिएको जानकारी दिए ।

प्रकाशित मिति : December 15, 2019 at 6:56 am