१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

कांग्रेस विवाद छताछुल्ल : पौडेल मनाउन देउवा सक्रिय

२९ मंसिर, काठमाडौं महाधिवेशको एजेन्डालाई केन्द्रीय समितिमा पेस गर्नुपर्ने माग राख्दै केन्द्रीय समिति बैठक बहिष्कार गरेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई मनाउन सभापति शेरबहादुर देउवा सक्रिय भएका छन् । देउवाले केन्द्रीय समिति बैठकमार्फत पार्टीका रिक्त विभाग, कार्यसम्पादन समिति, नेविसंघसहितका भ्रातृ संस्थालाई नेतृत्व दिने तयारी गरेपछि पौडेल समूह असन्तुष्ट रहँदै आएको छ ।

सो समूहले कार्यसमितिको म्याद सकिन लागेका बेला महाधिवेशनको तयारी गर्नुपर्नेमा महाधिवेशन टार्ने षड्यन्त्रमा सभापति लागेको भन्दै गत बिहीबार बोलाइएको केन्द्रीय समिति बैठक बहिष्कार गरेको थियो । बैठक बहिष्कारको अवस्थामा असन्तुष्ट समूह पुगेपछि शनिबार सभापति देउवा उपसभापति विमलेन्द्र निधिलाई लिएर वरिष्ठ नेता पौडेललाई मनाउन बोहोराटारस्थित उनको निवास पुगेको खबर राजधानी दैनिकमा छ ।

भेटमा सभापति देउवालाई आफूले महाधिवेशनको एजेन्डालाई बैठकमा ल्याउन आग्रह गरेको वरिष्ठ नेता पौडेलले जानकारी दिए । ‘सभापतिजीलाई मैले पहिले पनि महाधिवेशनको एजेन्डा बैठकमा ल्याउनुस् भनेको हो, फेरि पनि त्यही भनेको छु । पार्टीलाई मिलाएर लैजाने दायित्व सभापतिको हो, त्यसका लागि उहाँले सबैको कुरा सुन्नुपर्छ,’ पौडेलले राजधानीसँग भने, ‘यो बेला सभापतिले संयमतापूर्वक र उदारतापूर्वक निर्णय गर्न सक्नुपर्छ ।’

देउवा र पौडेलबीचको छलफलपछि पार्टीभित्र देखिएका समग्र विषयको विवादबारे सहमति खोज्न भन्दै संस्थापन पक्षबाट उपसभापति विमलेन्द्र निधि र पौडेल पक्षबाट पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा वार्ता समिति बनाइएको छ ।

कांग्रेस उच्च स्रोतका अनुसार समितिले वर्तमान केन्द्रीय समितिको म्याद थप गर्नेबारे उच्च तहमा छलफल गर्ने र कति समय थप गर्ने भन्नेबारे सहमति जुटाएर महाधिवेशनको एजेन्डालाई बैठकमा पेस गर्ने तथा त्यसपछि कार्यतालिका ल्याउने सहमतिमा रिक्त विभाग, तरुण दल, र नेतृत्व विहिन रहेको नेविसंघ गठनका विषयमा छलफल भइरहेको छ ।

वार्ता समिति गठन भएपछि शनिबार साँझ उपसभापति निधि र पूर्वमहामन्त्री सिंहबीच सिंह निवास चाक्सीबारी, ठमेलमा विवाद समाधानबारे छलफल भएको थियो । छलफल सकारात्मक दिशामा अघि बढेको र पुनः बैठक बसी निर्णयमा पुगिने पूर्वमहामन्त्री सिंह निकट स्रोतले जनाएको छ ।

वरिष्ठ नेता पौडेलले केन्द्रीय समितिको मुख्य सर्त नै १४औं महाधिवेशनको विषयलाई बनाउनुपर्ने भन्दै अडान राख्दै आइरहेका छन् । उनले महाधिवेशनको एजेन्डालाई बैठकमा राख्दा अन्य विषयमा छलफल गर्दै अघि बढ्न सकिनेसमेत बताउँदै आइरहेका छन् ।

तर, संस्थापन समूहले भने पार्टीका तल्ला तहका संरचनाको समायोजनको काम नै नसकिएकाले महाधिवेशनको एजेन्डा अघि ल्याउनुको सान्दर्भिकता नै नहुने बताउँदै आइरहेको छ ।

सो समूहले कार्यसमितिको समय थप गरेर पहिले समायोजनको काम सक्ने र त्यसपछि पार्टीको नयाँ क्रियाशील सदस्यता र नवीकरणको विषयमा अघि बढेर कार्यतालिकाबारे छलफल गर्ने बताउँदै आइरहेको छ ।

कांग्रेस केन्द्रीय समिति बैठक आइतबार (आज) पुनः बस्नेछ । संस्थापन पक्षले आइतबारको बैठकबाट विवाद नभएका एजेन्डालाई पारित गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : 06:39