गैँडा मर्ने क्रम रोकिएन
२९ मंसिर, भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणबाट विश्वकै दुर्लभ एकसिंगे गैँडा मर्ने क्रम रोकिएको छैन । चालू आवको साढे ४ महिनामा ५ गैँडा प्राकृतिक कारणले मरेका छन् ।
“गैँडा मर्ने क्रम रोकिएको छैन”, चितवन राष्ट्रिय निकुञ्जका प्रवक्ता गोपाल घिमिरेले भने । पछिल्लो समय यही मंसिर १८ मा भरतपुर महानगरपालिका २६ स्थित नारायणी नदीमा गैँडा मृत भेटिएको थियो । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र सिसुवारमा भेटिएको उक्त गैँडाको खाग र खुर सुरक्षित थियो । शरीरमा कुनै चोट थिएन । “मरेको गैँडा त्यस्तै ३० वर्ष उमेरको हो”, प्रवक्ता घिमिरेले भने, “मानव बस्तीमा गएर फापर, गहुँलगायत खेती खाएको रहेछ । त्यसलाई पचाउन नसकी मरेको निष्कर्षमा हामी पुग्यौँ ।”
निकुञ्जमा यसअघि विष प्रयोगबाट गैँडा मरेको घटना बाहिर आए पनि फुड पोइजनका कारण कुनै पनि गैँडा मरेको तथ्य नभेटिएको गोरखापत्र दैनिकमा खबर छ । त्यसो त अघिल्लो आव ०७५/७६ मा ४३ गैँडा चितवन निकुञ्जमा कालगतिले नै मरेको तथ्यांक छ । यो संख्या ०७४/७५ मा २६, ०७३/७४ मा २५ वटा थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका उपमहानिर्देशक रामचन्द्र आचार्यको नेतृत्व टोलीले गत वर्ष निकुञ्जमा गैँडा मर्नुका कारण अध्ययन गरे पनि यसको यकिन कारण बाहिर सार्वजनिक गरेको पाइँदैन । तर केही विज्ञले भने बासस्थानकै कारण समस्या भएको औंल्याउँदै आएका छन् ।
प्रकाशित मिति : December 15, 2019 at 6:28 am








