हिमपात र वर्षासँगै ह्वात्तै बढ्यो चिसो
२८ मंसिर, काठमाडौं । मुलुकका विभिन्न ठाउँमा हिमपात र वर्षा भएको छ । हिमपात र वर्षासँगै चिसो पनि ह्वात्तै बढेको छ । यद्यपि मुलुकभरको मौसममा भोलि (आइतबार) बाट भने सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमी प्रभाव तथा पश्चिमी न्यून चापीय प्रणालीका कारण दिउँसो बादल लाग्दा केही दिनयता काठमाडौँ उपत्यकालगायत मुलुकभर नै चिसो बढ्दै गएको थियो । तराई तथा पूर्वी पहाडी क्षेत्रको मौसममा भोलिदेखि क्रमिक सुधार आए पनि पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना अझै केही दिन कायमै रहने मौसमविद् समीर श्रेष्ठको भनाइ छ ।

सर्वसाधारणले उच्च सतर्कता अपनाउनुपर्ने पनि उनले सुझाएका छन् । मुलुकका अधिकांश भागमा शुक्रबार सामान्यदेखि पूर्णरूपमा बदली रही केही भूभागमा निरन्तर वर्षा भइरहेको छ । उच्च पहाडी र हिमाली भूभागमा भइरहेको हिमपातले जनजीवन प्रभावित बनेको छ ।
यता राजधानीमा पनि शुक्रबारदेखि वर्षा भइरहेको छ । चिसो बढेकपछि जनजीवन प्रभावित बनेको छ । विशेषगरी बालबालिका तथा वृद्धलाई चिसोले सताएको अवस्था छ । चन्द्रागिरि, चम्पादेवी, नगरकोट, फूलचोकीलगायत डाँडाहरुमा हिमपात भएको छ ।
चिसोले सडकमा सवारीसाधन पनि कम चलेका छन् । अत्यावश्याक कामबाहेक सर्वसाधारण घरबाहिर निस्किएका छैनन् ।
महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रबार सबैभन्दा धेरै धनगढीमा ६४, नेपालगन्जमा ५५, डडेलधुरामा ४३, वीरेन्द्रनगरमा ४१ र दिपायलमा ३२ मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा २२, जुम्लामा १८, भैरहवामा ९, ओखलढुंगा र दाङमा समान ५ तथा काठमाडौँमा ४ मिलिमिटर वर्षा भएको छ ।

प्रकाशित मिति : December 14, 2019 at 7:34 am








