२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

मालपोतमा अनलाइनको काम सुस्त

२७ मंसिर, सिञ्जा । मालपोत कार्यालय जुम्लामा अनलाइन प्रणालीबाट सेवा सञ्चालन भएदेखि सेवाग्राहीले दुःख पाएको गुनासो गरेका छन् । पहिले एक दिनमै हुने काम अहिले अनलाइनबाट हुँदा एक हप्तादेखि झण्डै एक महिनासम्म लाग्ने गरेको सेवाग्राहीले गुनासो गरेका छन् । कनकासुन्दरी गाउँपालिका–८ भट्टवाडाकी विष्णुमाया भट्टले मालपोत कार्यालय धाउन लागेको छ दिन भएको बताउनुभयो । अझै कति दिन लाग्ने भन्ने थाहा नभएको उहाँको गुनासो । भट्टवाडाकै कृष्ण भट्ट पनि मालपोत धाउन लागेको आठ दिन भयो । प्रणालीले काम नगर्दा काम हुन नसकेको कर्मचारीले बताउने गरेका उहाँको भनाइ छ ।

बिना पूर्वतयारी हतारमा अनलाइन प्रणालीबाट सेवा दिँदा यस्तो परिणाम आएको भट्ट बताउनुहुन्छ । गुठिचौर गाउँपालिका–४ प्याकुरेवाडाकी कर्मकन्या प्याकुरेल पनि मालपोत कार्यालय धाउन लागेको चार दिन भयो । उहाँ पनि कर्मचारीले इन्टरनेट छैन भनेर आफ्नो काम नभएको सुनाउनुहुन्छ । प्याकुरेलले वृद्ध सासूलाई यसरी हरेक दिन मालपोतमा ल्याउँदा दुःख भएको बताउनुभयो । प्याकुरेवाडाकै कृष्णप्रसाद प्याकुरेलले टोकनअनुसार काम नभएको बताउनुभयो । उहाँले २० दिन मालपोत धाउँदा पनि काम नभएको दुःखेसो पोख्नुभयो । यसरी २० दिनसम्म मालपोत धाउँदा आफ्नो दैनिक कार्यमा बाधा पुगेको उहाँ सुनाउनुहुन्छ ।

मालपोत कार्यालयका प्रमुख मीनबहादुर रावलले इन्टरनेट नचलेकै कारण ढिला भएको स्वीकार गर्नुभयो । बिहान–बेलुका इन्टरनेट चल्ने तर दिउँसो कार्यालय समयमा नचल्दा समस्या भएको प्रमुख रावलले बताउनुभयो । इन्टरनेट नचल्दा दिनमा एक/दुईवटा मात्र काम हुने गरेका उहाँले बताउनुभयो । इन्टनेट नचलेर काम नहुँदा स्वाभाविक रुपमा सेवाग्राहीको गुनासो आउने गरेको उहाँको भनाइ छ । ढिलासुस्तीको समाधान हुन अझै केही दिन लाग्ने रावलले जानकारी दिनुभयो । उहाँले वृद्धवृद्धा, अशक्त जस्ता शारीरिक कमजोरी भएका बाहेक अरू सबैलाई टोकनअनुसार नै काम गरेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : December 13, 2019 at 2:14 pm