आज नेकपा सचिवालय बैठक : सांगठनिक कार्यलगायत विषयमा छलफल
२७ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (शुक्रबार) बस्दै छ । मंसिर १४ मा बसेको स्थायी कमिटी बैठकको कार्यसूची, उप-चुनावको समीक्षा, बाँकी रहेका सांगठनिक कार्यलगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

उप-चुनाव भएका ठाउँबाट सबैको समीक्षात्मक प्रतिवेदन केन्द्रमा बुझाउन मंसिर १८ को सचिवालयको बैठकले निर्देशन दिएको थियो । तर, समयमा सबैको प्रतिवेदन नआएको भन्दै ५ दिनभित्र सबैले आ-आफ्नो प्रतिवेदन बुझाउन मंसिर २३ गते बसेको सचिवालयको बैठकले निर्देशन दिएको थियो ।
प्राप्त प्रतिवेदनमाथि आज (शुक्रबार) बस्ने सचिवालय बैठकमा छलफल हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाइ छ । त्यसैगरी पर्सि (आइतबार) बस्ने स्थायी कमिटी बैठकमा हुने एजेन्डाहरूको विषयमा पनि छलफल हुने बताइएको छ ।
पार्टीको केन्द्रीय विभाग र आयोगले प्रमुख र उपप्रमुखबाहेक पूर्णता पाउन सकेको छैन । मंसिर २३ को बैठकले केन्द्रीय आयोग र विभागका प्रमुख र उपप्रमुखलाई ७ दिनभित्र त्यससम्बन्धी प्रस्ताव तयार पार्न प्रमुख र उपप्रमुखलाई जिम्मेवारी दिएको थियो ।
प्रकाशित मिति : 07:18







