अब, माइतीघर-तीनकुनेमा साइकल लेन
२७ मंसिर, काठमाडौं । काठमाडौँ महानगरपालिकाले माइतीघरदेखि तीनकुनेसम्म साइकल लेन सञ्चालन गर्ने भएको छ । हालको सडकमा रहेको साइकल लेनलाई भौतिक र संरचनागत सुधारसहित लेन व्यवस्थित गरिन लागेको हो ।

साइकल लेन सञ्चालनसम्बन्धी गुरुयोजना बनाई माइतीघर-तीनकुने साढे २ किमि सडकमा साइकल लेन सञ्चालनको सुरुवात गर्न लागिएको आयोगका उपाध्यक्ष सरोज बस्नेतले जानकारी दिए । “कम लागत लाग्ने र धेरैले प्रयोग गर्न सकिने हुनाले यहाँबाट साइकल लेन सञ्चालनको सुरुवात गर्न लागेका छौँ,” उनले भने, “सहरी योजनाको सिद्धान्तअनुरूप साइकल लेन र पैदलमार्ग व्यवस्थित गर्नेछौँ ।”
अहिले भएको साइकल लेनको उचित प्रयोगको वातावरण सिर्जना गरी भविष्यमा साइकल लेनको थप सञ्जाल विकास गर्ने गुरुयोजना तयार पारिएको उपाध्यक्ष बस्नेतले जानकारी दिए । विद्यमान सडकमा साइकल लेनको डिजाइन र निर्माण नै त्रुटिपूर्ण हुँदा साइकल यात्रीलाई अवरोध मात्र सिर्जना भएको छैन, माइतीघर-तीनकुने सडकमा साइकल लेन छ भन्ने पनि सर्वसाधारणलाई थाहा नभएको खबर गोरखापत्र दैनिकमा छ ।
मुख्य सडकको सतहभन्दा अलि माथि उठेको ट्याक्टाइल पेभिङसहितको बाटोमा अहिले पैदलयात्रु हिँड्छन् । त्यही नै यो सडकको साइकल लेन हो ।
माइतीघर-तीनकुने सडकको दुईतर्फ गरी ५ किमि साइकल लेन सुधार र व्यवस्थान चाँडै सुरु गरिने महानगरले जनाएको छ । उक्त साइकल लेन निर्माणका लागि ३ करोड रुपैयाँ लागत अनुमान गुरुयोजनाले गरेको छ ।
प्रकाशित मिति : December 13, 2019 at 7:14 am








