२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

सामाजिक सञ्जाल, बन्यो जञ्जाल

२६ मंसिर, काठमाडौं करिब एक महिनाअघिको कुरा हो । अछामका २१ वर्षीय पुरन तिमल्सिना साइबर अपराधमा समातिए । भारतमा बस्ने उनले आफ्नै गाउँकी एक युवतीको ‘फेक’ फेसबुक अकाउन्ट खोले ।

युवती र उनका बुवाको फोटोमा अश्लील फोटो जोडेर म्यासेन्जरमा युवतीका आफन्तलाई पठाउन थाले । काठमाडौंमा पढ्दै गरेकी युवतीलाई उनीमाथि शंका लागेपछि प्रहरीमा उजुरी गरिन् र तिमल्सिना समातिए ।

सामाजिक सञ्जाल दुरुपयोग गर्दा समातिनेमा काठमाडौंमै बस्दै आएका ३८ बर्से शिवहरि थापा पनि पर्छन् । फेसबुकमार्फत् उनको २० वर्षीया युवतीसँग चिनजान भयो । सम्बन्ध अघि बढ्दै गएपछि उनले युवतीसँग बिहेको प्रस्ताव राखे र भेट्न बोलाए । युवती संखुवासभादेखि काठमाडौं आइन् । बौद्धको होटलमा भेट भयो । सँगै बसेका केही तस्बिर मोबाइलमा खिचे । आफूभन्दा थापा १८ वर्ष जेठा भएको थाहा पाएपछि युवतीले सम्बन्ध अघि बढाउन चाहिनन् । थापा त्यसको प्रतिशोध लिन चाहन्थे । उनले युवतीको फेक फेसबुक आईडी बनाएर युवती सँगै बसेका तस्बिर पठाउन थाले । यस्तो गरेकोमा उनी अहिले कारागारमा छन् ।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार सम्बन्ध राम्रो रहेसम्म शारीरिक सम्बन्ध बनाउने र बिग्रिएपछि त्यही सम्बन्ध सामाजिक सञ्जालबाट सार्वजनिक गरी चरित्र हत्या गर्ने प्रवृत्ति बढेको छ । यस्ता अपराधमा प्रायः किशोरकिशोरी संलग्न भएको पाइन्छ । तर साइबर अपराधमा सबै उमेर समूहका व्यक्तिले गरेको तथ्यले औंल्याएको खबर अन्नपूर्ण पोस्टमा छ । डीएसपी बोगटी भन्छन्, ‘सम्बन्ध बिग्रिएपछि प्रतिशोध लिन पीडकले वैवाहिक सम्बन्धसमेत टुटाइदिने गरेका छन् ।’

काठमाडौं प्रहरी कार्यालय टेकुमा ०७५/७६ मा १ सय ५२ साइबर क्राइमका उजुरी दर्ता छन् । ०७६ साउनमा १६ र भदौमा १७ उजुरी दर्ता भए । यीमध्ये अधिकांश सामाजिक सञ्जालसम्बन्धी अपराध छन् । प्रहरीमा दर्ता उजुरीका आधारमा सामाजिक सञ्जालको दुरुपयोग गरी भएका अपराधमा महिला र युवतीको चरित्र हत्या बढी छन् । अपराध गर्नेमा महिलासमेत छन् । तर महिलाले यस्तो अपराध प्रायः महिलामाथि नै गरेको देखिन्छ ।

साइबर क्राइम, देशभरिको तथ्यांक, प्रहरी प्रधान कार्यालय साइबर ब्युरो भोटाहिटीको तथ्यांकअनुसार वेबसाइट ह्याक, फेक फेसबुक आईडी, यूट्युब अपलोड र इमोबाट साइबर अपराध बढी भएका छन् । यीमध्ये फेक आईडी बनाएर गरेका अपराध धेरै छन् ।

प्रदेश १, प्रदेश २, प्रदेश ३, प्रदेश ५, गण्डकीको पोखरा, कर्णालीको सुर्खेत, सुदूरमश्चिमको कैलाली, हेलो सरकार र साइबर ब्युरो भोटाहिटी गरी देशभरिका प्रमुख ९ प्रहरी कार्यालयबाट प्राप्त तथ्यांकका आधारमा ०७५/७६ मा ३ सय ५७ साइबर अपराधका उजुरी परेको छ । यसमध्ये फेक आईडी बनाएका ३ सय ४३ उजुरी छन् ।

प्रदेश १ को विराटनगर प्रहरी कार्यालयमा सबैभन्दा बढी ५२ वटा फेक आईडी अपराधका उजुरी दर्ता छन् । साइबर ब्युरो भोटाहिटीमा यस किसिमका १ सय १६ उजुरी दर्ता छन् । साइबर अपराधमा १८ वर्षभन्दा मुनिका १३ र त्यसभन्दा माथिका ३ सय ४४ जना छन् ।

प्रकाशित मिति : December 12, 2019 at 8:03 am