पिँजडामा पालिएका कुखुराबाट उत्पादित अण्डा अस्वस्थकर
२५ मंसिर, काठमाडाैँ । पिँजडामा पालन गरिएको कुखुराबाट उत्पादन भएको अण्डा र मासु खानका लागि स्वस्थकर नहुने एक कार्यक्रममा सहभागी वक्ताले बताएका छन् । उनीहरुले देशका अधिकांश ठाउँमा पिँजडाभित्र कखुुरापालन गरिँदै आएकाले पिँजडामुक्त खोरका बारेमा चेतना जगाउनुपर्ने औँल्याए । पिँजडामुक्त खोरको प्रयोग र विस्तारका लागि अभियान चलाएको एनिमल नेपालद्वारा आयोजित कार्यक्रममा उपभोक्ता मञ्चका अध्यक्ष सहदेव गौतमले जीवनयापनका लागि पशुपक्षीलाई पनि उपयुक्त वातावरण चाहिने भएकाले पशु अधिकारका विषयमा मानिस सचेत हुनुपर्ने बताउनुभयो ।

“मानिसले पशुपक्षीको अधिकार हरन गर्ने काम गरेका छन्”, उहाँले भन्नुभयो, “पशुपक्षीको अधिकारको विषयमा सरकार गम्भीर बन्नुपर्ने देखिन्छ ।”एनिमल नेपालका कार्यकारी निर्देशक हरिप्रसाद जोशीले प्राकृतिक वातावणमा रमाएर हुर्किएको पशुपक्षीको मासु, दूध र अण्डाबाट मात्र आवश्यक पौष्टिक तत्व पाइने बताउनुभयो । “औषधि र सुईको प्रयोगले उत्पादन वृद्धि गर्ने गरिएको छ”, उहाँले भन्नुभयो, “प्राकृतिक र अर्गानिक वस्तुको सेवनमा जोड दिई मानव स्वास्थ्यको क्षेत्रमा संवेदनशील बन्न अति आवश्यक छ ।”
जोशीले १२० दिनको अवधिमा तयार हुने ब्वायलर कुखुरालाई औषधि सेवन गराई ३५ दिनमै तयार गर्न लागिएको बताउनुभयो । पशुकल्याणको विश्वव्यापी मान्यतालाई स्थापित गर्नका लागि अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो । संस्थाका कार्यक्रम संयोजक निर्मल शर्माले पहिलो चरणमा काठमाडौँ र चितवनमा अभियान सञ्चालन गरिएको बताउनुभयो । “मुलुक कुखुरा र अण्डामा आत्मनिर्भर भएको छ”, उहाँले भन्नुभयो, “आत्मनिर्भर भएरमात्र पुग्दैन, स्वस्थकर वस्तुको उत्पादनमा विशेष जोड दिनुपर्छ ।”
रेष्टुरेन्ट व्यवसायी हरिप्रसाद भेटवालले मानिसको स्वास्थ्यसँग सरोकार राख्ने विषयहरुमा सबैको सहकार्य आवश्यक रहने बताउनुभयो । उहाँले राज्यका नीतिनिर्माण तहमा बस्ने व्यक्तिहरु पनि उपभोक्ता नै भएकाले उपभोक्ता अधिकार हननका विषयमा चनाखो हुनुपर्ने बताउनुभयो ।
प्रकाशित मिति : December 11, 2019 at 9:15 pm










