नेपालले पठाएको पत्रको भारतले जवाफ दिएन, तर किन ?
२५ मंसिर, काठमाडौं । नेपाल-भारतबीच सीमा विवाद समाधानका लागि नेपालले पठाएको पत्रको जवाफ भारत सरकारले अहिलेसम्म पनि नदिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेसँगै एक महिनाअघि चुलिएको विवाद समाधानका लागि नेपाल सरकारले कूटनीतिक तहबाट पहल गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतलाई दुई साताअघि पत्र पठाएको थियो ।

पत्रको विषयमा कुनै पनि जवाफ नआएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । ‘नेपालले भारतको जवाफीपत्र कुरिरहेको छ,’ उनले भने, ‘आशा छ केही समयमा त्यसको जवाफ भारतले दिनेछ ।’ सीमा विवादको विषयमा भारतलाई पठाएको पत्रबारे कुनै जवाफ नआएको विषयमा सोमबारको मन्त्रिपरिषद् बैठकमा समेत परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी गराएका थिए ।
सीमा विवादको विषयलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कूटनीतिक पहल गर्ने विषयमा समेत मन्त्रिपरिषद् बैठकमा छलफल भएको खबर राजधानी दैनिकमा छ । भारतले जवाफ पठाउन ढिलाइ गरेपछि अबको कूटनीतिक पहल कसरी गर्ने भन्ने विषयमा मन्त्रिपरिषद्मा छलफल भएको बताइएको छ ।
नेपालले पठाएको पत्रको जवाफ भारतले अहिलेसम्म नपठाएपछि तत्काल सीमा विवाद समाधानका लागि नेपालले विशेष दूत पठाउने सम्भावना समेत टरेको जनाएको छ । यसअघि प्रधानमन्त्री ओलीले विशेष दूतका रूपमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई पठाउने भनिए पनि सो सम्भावना तत्काललाई टरेको छ । नेपालको तर्फबाट प्रधानमन्त्रीबाटै पहलकदमी गर्ने विषयमा छलफल भइरहेको स्रोतले जनायो ।
भारतले सार्वजनिक गरेको नयाँ नक्साले कालापानी र लिपुलेकको सीमा विवाद उत्कर्षमा पुगेपछि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएर सीमा विवाद समाधानको विषय छलफल गरेका थिए । सर्वदलीय बैठकपछि सरकारले नेपालको सीमा क्षेत्र भारतमा परेको विषयमा पत्र लेखेर जवाफ मागेको थियो । भारतबाट अतिक्रमित सो क्षेत्रमा अहिले पनि नेपालको उपस्थिति छैन । भारतीय सेनाले क्याम्प खडा गरेर बसेको सो क्षेत्रबाट नेपाल आउन भारतको स्वीकृति लिनुपर्ने बाध्यता छ ।
तर, नेपाल सरकार सो ठाउँमा आफ्नो उपस्थिति कायम गर्न असफल रहँदै आएको छ । नेपालको कमजोर कूटनीतिको फाइदा उठाउँदै भारतले एक पक्षीय ढंगबाट आफ्नो राजनीतिक नक्सामा नेपालको भूमिलाई आफ्नो नक्सामा पारेको छ । लिपुलेक र कालापानीको विषयमा पटकपटक विरोध हुँदै आए पनि भारतले आफ्नो नक्सामा उल्लेख गरेपछि सो विवाद उत्कर्षमा आएको हो । भारतले जारी गरेको नयाँ नक्सामा जम्मु तथा कस्मिर दुई फरक प्रशासनिक क्षेत्रमा विभाजन गरेको छ । यो नक्सालाई पाकिस्तानले मान्न अस्वीकार गरेको छ ।
प्रकाशित मिति : 07:54







