२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

चापाकोट देउराली सांस्कृतिक महोत्सवको तयारी

२४ मंसिर, पोखरा। पोखरा महापालिका–२३ चापाकोटमा यही मंसिर २५ देखि २९ गतेसम्म हुने ‘चापाकोट देउराली सामुदायिक घरवास सांस्कृृतिक महोत्सव’को तयारी अन्तिम चरणमा पुगेको छ । पर्यटकीय दृष्टिले महत्वपूर्ण ठाउँ भए पनि ओझेल परेका कारण चापाकोटको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको र सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको चापाकोट पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष भीमप्रसाद पराजुलीले जानकारी दिनुभयो । पोखराबाट १३ किलोमिटर पश्चिमतर्फ रहेको उक्त ठाउँमा चापाकोट पर्यटन प्रवद्र्धन समिति, चापाकोट देउराली सामुदायिक घरवास र पोखरा महानगरपालिका वडा नं २३ ले संयुक्तरूपमा महोत्सव गर्न लागेका हुन् ।

महोत्सवमा स्थानीय संस्कृति, राष्ट्रिय कलाकारको लोकदोहोरी तथा हास्य कलाकारको प्रस्तुतिका साथै नौमतीबाजा, भजन चुड्का र रत्यौली प्रतियोगिता गरिने छ । प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टोलीलाई क्रमशः रु ३०, २०, १० र पाँच हजार नगदसहित पुरस्कृत गरिने पराजुलीले बताउनुभयो । चापाकोट देउराली सामुदायिक घरवास फेवाताल किनार हुँदै ४५ मिनेटको सडकयात्राबाट पुग्न सकिन्छ । पैदलयात्रा गर्दै जाने हो भने घरवास पुग्न करीब अढाइ घण्टा लाग्छ ।

प्राकृतिक र सांस्कृतिकरूपमा सम्पन्न भए पनि ओझेल परेका चापाकोट, हर्पन, चैनपुरलगायत क्षेत्रको उचित प्रचारप्रसार गर्न महोत्सव गर्न लागिएको हो । यहाँका २५ घरमा घरवास सञ्चालन गरिएको र सबैमा महोत्सवका बेला पर्यटक बस्ने व्यवस्था मिलाइएको चापाकोट देउराली सामुदायिक घरवासका अध्यक्ष विश्वराज पराजुलीले जानकारी दिनुभयो । तीन सय घर रहेको चापाकोटामा २५ घरमा सञ्चालित घरवासमा करीब १५० पाहुनालाई राख्न सकिने र घरवास विस्तारै थप्दै जाने योजना रहेको उहाँले बताउनुभयो ।

महोत्सवबाट रु १५ लाख आम्दानी गर्ने र रु १४ लाख ३० हजार खर्च हुने आयोजकको अनुमान गरिएको छ । बचत रकमबाट भ्यूटावर निर्माण तथा संस्कृति र स्थानीय झरनाको संरक्षणलगायतका काम थालनी गर्ने योजना राखिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले सघाउने महोत्सवमा स्थानीय लप्सी, तरुल, दमौरा, महलगायतका स्थानीय उत्पादनका मात्रै कक्ष राखिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : December 10, 2019 at 11:55 am