१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

इजरायली विकास नियोगका प्रमुख नेपाल भ्रमणमाः उर्जामन्त्री पुनसंग छलफल

२३ मंसिर, काठमाडौँ । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन ‘अनन्त’ र इजरायली विकास नियोग मसाभका प्रमुख गील हसकेलबीच भेटवार्ता भएको छ । सिंहदरवास्थित उर्जामन्त्रालयमा सोमबार भएको भेटवार्तामा द्धिपक्षिय सहयोगका साथै आपसी हितको विषयमा छलफल भएको थियो । भेटमा मन्त्री पुनले सरकारले पांच वर्षमा पांच हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य लिएको भन्दै खपतको लागी आन्तरिक र बाह्य बजार तयार रहेको जानकारी दिनुभयो ।

उहांले उर्जा,जलविद्युत र सौर्य उर्जामा इजरायली लगानीकर्तालाई लगानीका लागी प्रेरित गरिदिन आग्रह गर्नुभयो ।‘नेपालमा प्रशारण लाइन, जलविद्युत र सोलारमा पनि सहकार्य गर्न अवसर छ, इजरायली लगानीकर्ताहरुलाई नेपालमा लगानीका लागी प्रेरित गरिदिन आग्रह गर्छु ।’ मन्त्री पुनले भन्नुभयो । मन्त्री पुनले नेपाल विद्युत प्राधिकरण र विभिन्न सरकारी कम्पनीहरु मातहत १२ हजारभन्दा बढी कर्मचारी भएको भन्दै तालिम र क्षमता अभिवृद्धिका कार्यक्रममा सहकार्य गर्न सकिने धारणा राख्नुभयो ।

भेटमा विकास नियोग मसाभका प्रमुख हसकेलले स्मार्ट ग्रिड, पावर स्टेशन र स्मार्ट सोलुशनको क्षेत्रमा काम गर्न इजरायल इच्छुक रहेको बताउनुभयो । छलफलमा उर्जामन्त्रालय मातहतका कर्मचारीलाई तालिम र क्षमता अभिवृद्धिका लागी सहयोग गर्न सकिने बिषयमा समेत छलफल भएको थियो ।

प्रकाशित मिति : 16:31