असुरक्षित वैदेशिक रोजगारः चालू आर्थिक वर्षकाे प्रथम चौमासिकमा २५१ नेपालीको मृत्यु
–अशोक घिमिरे
२३ मंसिर, काठमाडाैँ । सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन विभिन्न पहलकदमी लिइरहँदा पछिल्लो समय वैदेशिक रोजगारी झन् असुरक्षित बन्न थालेको छ । असुरक्षित वैदेशिक रोजगारीका कारण दश वर्षका अवधिमा सात हजार ५०० बढी नेपालीले ज्यान गुमाइसकेका छन् ।
चालू आर्थिक वर्षको पहिलो चौमासिकमा वैदेशिक रोजगारीमा रहेका २५१ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा आठ महिला र २४३ पुरुष छन् । गत साउनमा दुई महिलासहित ५८ पुरुष, भदौमा दुई महिलासहित ५८ पुरुष, अशोजमा ४७ र कात्तिकमा ८० जनाले ज्यान गुमाएका वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ ।
प्रथम चौमासिकमा बोर्डले प्रतिमृतक रु सात लाखको दरले २५१ मृतकका हकवालालाई करिब रु १७ करोड ५७ लाख आर्थिक सहायता उपलब्ध गराएको छ । बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका कामदारको मृत्यु भएमा निजको नजिकको हकवालालाई आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ ।

सोही अवधिमा आठ कामदारका परिवारलाई औषधोपचार सहयोग उपलब्ध गराइएको बोर्डले जनाएको छ । कामदारको परिवारलाई सामान्य रोग लागेमा रु १५ हजार, सामान्य शल्यक्रिया गर्नुपर्ने भएमा रु ३० हजार र गम्भीर प्रकारको रोग लागेमा रु ५० हजार सहायता दिँदै आएको छ । पहिलो चौमासिकमा २५० मृतक कामदारको शव निःशुल्क ढुवानी गरिएको छ । सरकारले मृतक कामदारको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थायी घरठेगानासम्म निःशुल्क ढुवानी गर्दै आएको छ ।
सरकारले वैदेशिक रोजगार नियमावली, २०६४ संशोधन गरेर विदेशमा रहँदा वा स्वदेश फर्केको एक वर्षको अवधिभित्र श्रम स्वीकृति लिएका कामदारको मृत्यु भएमा आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ । त्यसअघि श्रम स्वीकृतिको अवधिभित्र गन्तव्य मुलुकमा मृत्यु भएमात्र निजको परिवारलाई आर्थिक सहायता प्रदान गरिँदै आएको थियो ।
वैदेशिक रोजगारीमा रहेका कामदारले विविध कारणबाट अनाहकमै ज्यान गुमाउने गरेका छन् । मुख्यरुपमा हृदयको गति बन्द (कार्डियाक एरेष्ट), हृदयाघात, कार्यस्थलमा दुर्घटना, सवारी दुर्घटना, प्राकृतिक मृत्यु, आत्महत्यालगायत कारणबाट नेपालीको विदेशी भूमिमा मृत्यु भइरहेको छ ।
दश वर्षको अवधिमा कार्डियाक एरेष्टबाट एक हजार ३०९, प्राकृतिक मृत्युबाट एक हजार ६१७, हृदयाघातबाट ६०३, कार्यस्थलमा दुर्घटनाबाट ६४४, आत्महत्याबाट ८९२ र सडक दुर्घटनाबाट एक हजार ३७ जनाको ज्यान गएको बोर्डले जनाएको छ ।
सामान्यभन्दा सामान्य जानकारी नहुँदा वैदेशिक रोजगारीमा रहेका नेपालीले ज्यान गुमाउँदै आएको भन्दै सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई अभिमुखीकरण दिएर पठाउने तयारी गरेको छ । ट्राफिक नियमको जानकारी नहुँदा पनि नेपालीले अनाहकमा ज्यान गुमाउनु परेको छ ।
सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । कामदारलाई पूर्वप्रस्थान अभिमुखीकरण तालिम दिइँदै आएको भए पनि कामदारको मृत्यु हुने सङ्ख्या अझै न्यूनीकरण हुन सकेको छैन । स्वास्थ्य समस्यालाई सामान्य रुपमा लिने र हेलचक्रयाइँ गर्नाले अनाहकमा ज्यान गुमाउनुपरेको चिकित्सकहरु बताउँछन् ।
श्रम मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मी वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको मृत्युको कारण पहिचान गरेर सरकारले सोही अनुसारको कार्यक्रम सञ्चालन गर्ने बताउनुहुन्छ । “पहिले सरकारले के कारणले कामदारको मृत्यु भएको हो भन्ने अध्ययन गर्छ”, उहाँले भन्नुभयो, “मृत्युका कारण पत्ता लगाएपछि सरोकारवालासँग छलफल गरेर न्यूनीकरणका लागि काम गर्छौँ ।”
प्रकाशित मिति : December 9, 2019 at 3:00 pm










