१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

नेकपा सचिवालय बैठक बस्दै : के होला निर्णय ?

मन्त्रिपरिषद् बैठक पनि आजै

२३ मंसिर, काठमाडौं विभिन्न विषयमा छलफल तथा निर्णयका लागि आज नेकपा सचिवालय बैठक बस्दै छ । पार्टी मुख्यालय धुम्बाराहीमा दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न वैचारिक तथा सांगठानिक प्रस्ताव पेस गर्ने तयारी छ ।

आजको बैठकको तयारीका लागि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा वरिष्ठ पदाधिकारीहरुको छलफल भएको थियो । छलफलमा वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत सहभागी थिए । यो छलफलमा सचिवालय बैठकमा पेस गर्ने एजेन्डाबारे कुराकानी भएको महासचिव पौडेलले जनाएका छन् ।

यसअघि गत बुधबार बसेको सचिवालय बैठकले उपनिर्वाचन समीक्षा र पार्टीको एकता प्रक्रिया टुंग्याउन आज (सोमबार) बैठक बोलाउने निर्णय गरेको थियो ।

यस्तै आजको बैठकमा अध्यक्ष प्रचण्डको प्रस्तावमा पार्टी एकता प्रक्रियालाई पूर्णता दिँदै ६ महिने अभियान चलाउने योजनासमेत समेटिएको स्रोतले जनाएको छ ।

यसैबीच प्रधानमन्त्री केपी ओलीले सोमबारै मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीले सोमबार ४ बजे मन्त्रिपरिषद बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली अस्वस्थ भएपछि झन्डै दुई सातायता मन्त्रिपरिषद् बैठक बसेको थिएन ।

प्रकाशित मिति : 07:26