निर्वाचन आयोगको प्रस्ताव : ‘राष्ट्रियसभाका १९ सदस्यको चुनाव माघ ७ मा गरौं’
२३ मंसिर, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभाका १९ सदस्यको चुनाव आगामी माघ ७ गतेका लागि प्रस्ताव गरेको छ । राष्ट्रियसभाका ५९ सदस्यमध्ये १९ सदस्यको कार्यकाल फागुन २० गते सकिँदै छ । कार्यकाल सकिनु अघि नै निर्वाचन गर्नेगरी आयोगले माघ ७ गतेलाई प्रस्ताव गरेको हो ।
राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ मा कार्यकाल सकिनुभन्दा कम्तिमा ३५ दिनअघि नै चुनाव गरिसक्नु पर्ने व्यवस्था छ ।

संघीय संसदले राष्ट्रियसभाका १९ सदस्यका लागि निर्वाचनको व्यवस्था मिलाउन पत्राचार गरेपछि आयोगले प्रस्ताव पठाएको हो । आयोगले निर्वाचन प्रक्रियाको जानकारी राजनीतिक दल र सरकारलाई पठाउँदै छ ।
आयोगले पठाएको प्रस्तावमा छलफल गरी उपयुक्त ठहर गरेपछि निर्वाचनको मिति घोषणा भने सरकारले गर्नेछ ।
राष्ट्रियसभामा रहेका ५९ सदस्यमध्ये सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गरेका १ र निर्वाचनबाट आएका १८ जनाको कार्यकाल फागुन २० गते सकिँदै छ । जसमध्ये राष्ट्रपतिबाट मनोनीत अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल फागुन २० गते सकिनेछ ।
त्यस्तै सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, हरिचरण सिवाकोटी, रामप्रित पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपालीको कार्यकाल पनि फागुन २० मा सकिँदै छ ।
प्रकाशित मिति : 07:07







