कर्मचारीसँगै ‘घूस’ लिन्थे सीडीओ रिजाल
२१ मंसिर, काठमाडौं । सर्लाहीका रामनरेश यादव सरकारी जागिर सुरु गरेको ३० वर्षमा पहिलो पटक गत भदौ ४ गते प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा छिरे । उनलाई दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले फोन गरेर बोलाएका थिए । उनको साथमा दोलखाको बिगु गाउँपालिका १ का कार्यालय सहयोगी राजु श्रेष्ठ पनि थिए । श्रेष्ठ पनि रिजालले बोलाएरै उनको कार्यकक्षमा पुगेका हुन् ।

लामाबगर स्वास्थ्यचौकीका सिनियर अहेव यादवले बिगु गाउँपालिका १ को सचिवको जिम्मेवारीसमेत सम्हाल्दै आएका छन् । ‘हामी कार्यकक्षभित्र छिर्नेबित्तिकै सीडीओ सापले ढोका थुन्नुभयो,’ शुक्रबार सिंहदरबारस्थित गृह मन्त्रालय परिसरमा भेटिएका यादवले सम्झिए, ‘उहाँले तिमीहरूविरुद्ध बिगु १ का केही व्यक्तिले बेइज्जती हुनेखालका उजुरी दिएका छन्, के कसो हो भनेर सोध्न बोलाएको हो भन्नुभयो ।’ तर रिजालले कसले के उजुरी दिएको छ भन्ने खुलाएनन् ।
केही समयअघि यादव र श्रेष्ठको बिगुकै एक महिलासँग झगडा परेको थियो । त्यसलाई स्थानीय बासिन्दाले मिलाइसकेका थिए । ‘त्यसबाहेक गाउँलेसँग हाम्रो कुनै दुस्मनी थिएन,’ श्रेष्ठले भने ।
यादवका अनुसार उनीहरूले ‘आफूहरूले केही पनि गल्ती नगरेको’ भन्दै कसले के उजुरी दिएको हो भनेर सोधेका थिए । रिजालले जवाफको सट्टा धम्की दिए । ‘उहाँले हामीलाई पुलिस लगाएर थुनिदिन्छु भन्नुभयो, तिमीहरूको जागिर जान्छ, बदनाम पनि हुन्छौ भन्नुभयो,’ यादवले भने ।
सिंगो जिल्ला हाँकिरहेका रिजालले बन्द कोठामा यसरी धम्क्याएपछि यादव र श्रेष्ठले चुपचाप उनको कुरा सुने, रिजाल बोल्दै गए । अन्त्यमा दुवैले धरौटीबापत १/१ लाख रुपैयाँ बोकेर भदौ ७ गते जिल्ला प्रशासन कार्यालय जानुपर्ने ‘म्याद’ पाए । प्रजिअ रिजालले उनीहरूलाई नखुलेको गल्तीको धरौटीबापत त्यो रकम मागेका थिए । गाउँ फर्किएर उनीहरूले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षलाई प्रजिअ रिजालसँग भएको कुराकानी र उनले पैसा मागेको बारे सुनाए । ‘सीडीओले धरौटी नै मागेको भए पक्कै केही होला, बाँकी कुरा बुझ्दै गरौंला, अहिले पैसा बुझाउनू,’ वडाध्यक्ष हिरण्यलाल गुरुङले सुझाव दिए । र, एक लाख रुपैयाँ सापटी पनि दिए ।
उनीहरूले भदौ ७ गते प्रमुख जिल्ला अधिकारीलाई उनकै कार्यकक्षमा गएर पैसा बुझाए । ‘तर हामीले पैसा बुझाएबापतको रसिद पाएनौं,’ श्रेष्ठले भने, ‘सीडीओ सापले असोज ७ गते फेरि प्रशासन कार्यालयमा हाजिर हुन म्याद दिनुभयो ।’
त्यतिखेर पनि रिजालले उनीहरूसँग पुरानै शैलीमा १/१ लाख रुपैयाँ ‘धरौटी’ मागेको खबर कान्तिपुर दैनिकमा छ । रिजालको निर्देशनअनुसार उनीहरूले असोज १४ गते पैसा बुझाउनुपर्थ्यो । त्यो बेला श्रेष्ठले सहकारीबाट ऋण निकालेर बुझाए । यादवले सामाजिक सुरक्षा भत्ता बाँड्नका लागि गाउँपालिकाबाट लिएको रकम प्रमुख जिल्ला अधिकारी रिजाललाई दिए ।
प्रकाशित मिति : December 7, 2019 at 8:34 am







