उपत्यकाको तापक्रम घट्यो अनि ह्वात्तै बढ्यो चिसो !
२० मंसिर, काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम शुक्रबार बिहान यस वर्षकै सबैभन्दा कम मापन गरिएको छ । हिजो बिहान ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको उपत्यकाको तापक्रम आज बिहान ४ दशमलव ६ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
न्यूनतम तापक्रम घट्दा चिसो बढेको विभागले जनाएको छ । अहिले देशका पश्चिमी, मध्य र पूर्वी पहाडी भूभागको मौसममा आंशिक बदली रहेको महाशाखाले जनाएको छ । मौसमविद मीनकुमार आर्यालका अनुसार बाँकी भू-भागको मौसम सामान्यत: सफा छ ।

दिउँसो देशका पश्चिमी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकीमा आंशिक बदली रहने अनुमान विभागले गरेको छ ।
पछिल्लो केही दिनयता काठमाडौं उपत्यकाको तापक्रम दिनहुँ घटिरहेको हो । यसरी दिनहुँ तापक्रम घट्दै जाँदा चिसो महसुस भएको छ ।
उता हिमाली क्षेत्रमा हिमपात हुने क्रम पनि सुरु भएको छ । चिसो अत्यधिक बढेसँगै हिमाली क्षेत्रका सर्वसाधारण बेंसी झरिरहेका छन् । केही बेंसी झरिसके पनि केही झर्ने क्रममै छन् । अग्ला डाँडाहरु पनि सेताम्मे देखिन थालेका छन् ।
प्रकाशित मिति : December 6, 2019 at 8:30 am







