१३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026

भगवतीमाईमा युवा स्थापित, डोजर विस्थापित

१९ मंसिर, दैलेख दैलेखको भगवतीमाई गाउँपालिकाले श्रम रोजगार बैंकमार्फत युवालाई स्थापित गर्ने र डोजर विस्थापित नीति अगाडि सारेको छ । गाउँपालिकाले आव ०७६/७७ सुरु हुने श्रम रोजगार बैंकमार्फत १ सय ४० युवालाई रोजगारी दिनेछ भने उनीहरुलाई विकासमा स्थापित गराएर डोजर विस्थापित गर्ने भएको हो ।

दैलेखमा मात्र नभई नेपालभर डोजर आतंक र उपभोक्ता समितिमार्फत काम सञ्चालन गर्दासमेत काम प्रभावकारी र गुणस्तरीय नभएको र उपभोक्ता समितिले पनि कमिसनको लोभमा डोर हाजिर गरी भुक्तानी गरेको गुनासो आइरहँदा त्यो परम्परा तोड्न श्रम रोजगार बैंकले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गाउँपालिकाले लक्ष्य लिएको खबर गोरखापत्र दैनिकमा

संविधानप्रदत्त रोजगारी हकलाई मौलिक हकको कार्यान्वयन गर्न रोजगारी हकसम्बन्धी ऐन, २०७५ अनुसार श्रम रोजगार बैंक स्थापना गरी रोजगारी दिएको गाउँपालिका अध्यक्ष दानबहादुर थापाले बताए । उनले चालू आव ०७६/७७ को नीति तथा बजेटमार्फत सार्वजनिक विकास निर्माणका कार्यमा रोजगारका अवसर सिर्जना गरी ५ वर्षमा गाउँपालिकाका युवा बाध्यात्मक वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था अन्त्य गर्न श्रम रोजगार बैंकमार्फत रोजगारी दिन लागेको बताए ।

उनले १० लाख रुपैयाँभन्दा माथिका योजना टेन्डर प्रक्रियाबाट गर्ने प्रयास गरे पनि त्यसको प्रभावकारी हुन नसकेका कारण गाउँपालिकाले सञ्चालन गरेका योजना प्रभावकारी बनाउन श्रम रोजगार बैंकमार्फत यो आर्थिक वर्षमा २१ योजनामा युवाले काम गर्ने जानकारी दिए ।

प्रकाशित मिति : December 5, 2019 at 6:46 am