६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

आधा क्षेत्रफलमै खुम्चिने भयो औद्योगिक क्षेत्र


१८ मंसिर, नेपालगन्ज । बाँकेको नौबस्तामा ५२५ बिघामा निर्माण हुने भनिएको औद्योगिक क्षेत्र झन्डै आधा क्षेत्रफलमा खुम्चिने भएको छ । यस क्षेत्रकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र निर्माण गर्ने निर्णय मन्त्रिपरिषद्ले गरे पनि हाल आएर सो औद्योगिक क्षेत्रको क्षेत्रफल घट्दै २७७ बिघा मात्र बाँकी छ ।

औद्योगिक क्षेत्रका लागि ३३८ बिघाको लालपुर्जा पाइए पनि त्यहाँ रहेको सशस्त्र प्रहरी क्याम्प र निर्माण भइरहेको क्षेत्रीय कारागार तथा स्थानीय बासिन्दालाई ६१ बिघा जग्गा छोड्दा २७७ बिघा मात्र बाँकी रहेकोले सोही जग्गामा निर्माण गरिन थालिएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय नेपालगन्जले जनाएको छ ।

सशस्त्र प्रहरी क्याम्प र क्षेत्रीय कारागार निर्माण तथा त्यहाँ बसेको बस्तीलाई औद्योगिक क्षेत्र रहने भनिएको जग्गाबाटै जमिन वितरण गर्नुपरेकाले क्षेत्रफल घटेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय नेपालगञ्जका प्रमुख कृष्णबहादुर पुनले बताए ।

उनका अनुसार औद्योगिक क्षेत्रका लागि डीपीआर तयार हुँदा २५९ घरधुरी उक्त क्षेत्रमा पर्ने तथ्यांक संकलन भएको थियो तर स्थानीय घरधनीको संघर्ष समितिले त्यो संख्या झन्डै दोब्बर रहेको दाबी गरेपछि थप समस्या भएको खबर गोरखापत्र दैनिकमा छ ।

सशस्त्र प्रहरी, सुकुम्बासी बस्ती र क्षेत्रीय कारागारका लागि क्रमशः २०, ३१ र १० गरी ६१ बिघा छाड्ने सहमति भएकोले क्षेत्रफल घटेर २७७ बिघामा पुगेको उनले बताए । यसैगरी औद्योगिक क्षेत्र निर्माणको काम अघि बढाउने उद्देश्यले नौबस्ता औद्योगिक क्षेत्रका लागि वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने कार्य गरिसकिएको प्रमुख पुनले बताए ।

बैजनाथ गाउँपालिकाको नौबस्तामा औद्योगिक क्षेत्र परियोजना कार्यालय गत वर्ष स्थापना गरिएको थियो । औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि डेढ वर्षअघि नै प्रस्ताव माग गरिएको थियो । सो प्रस्तावअनुसार २५० भन्दा बढी उद्योगी व्यवसायीले उद्योग सञ्चालनका लागि आशय पत्र दर्ता गराएका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार ०८:१४