१२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026

विमानस्थलमा प्रहरी निगरानी बढ्यो

१८ मंसिर, काठमाडौं । तस्करबाट अवैध वस्तु र जिन्सी सामग्री भेटिन थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र जाँचमा कडाइ गरिएको छ । प्रहरीले यात्रुको आवागमन हुने ढोका सुरक्षाकर्मी संख्या बढाउनुका साथै सीसी क्यामेरा, इलेक्ट्रिक ढोका र लगेज तथा अन्य सामान जाच गर्न प्रयोग गरिने विद्युतीय एक्सरे मेसिन थप गरेको हो ।

विदेशबाट फर्कने यात्रु र तस्करको लगेजबाट बढी अवैध सामान तथा सुन भेटिएपछि प्रहरीले त्यसलाई थप कडाइ गर्न विभिन्न प्राविधिक मेसिन जडान भइरहेको विमानस्थलले जनाएको छ । विमानस्थलका प्रहरी प्रमुख (डीआईजी) सूर्य उपाध्यायका अनुसार आईटीको बढी प्रयोग भइरहेका बेला विमानस्थलभित्र पनि त्यसको आवश्यकता महसुस गर्दै नयाँ मेसिन थप गरिएको छ ।

यसअघिका मेसिनबाट कालो प्लास्टिकमा बेरिएको सामानसमेत पत्ता लगाउन समस्या हुने अवस्था रहेको खबर नागरिक दैनिकमा छ । तस्करीमा यही प्रविधि प्रयोग गर्न थालिएको प्रहरीले जानकारी दिँदा आएको थियो । यात्रु ओर्लिएपछि जाँचका लागि अहिले नयाँ मेसिन जडान गरिएको छ । चोर र तस्करलाई सजिलो भइरहेको सरकारी अधिकारीले निष्कर्ष निकालेपछि नयाँ प्रविधि जडान गरिएको हो । प्रहरीका अनुसार करिब ११ करोडको अत्याधुनिक एक्सरे मेसिन जडान भइसकेका छन् ।

लगेजभित्रको सामान एक्सरे मेसिनले बाहिरबाटै पत्ता लगाउन सक्छ । मेसिनलाई कम्प्युटरमा जडान गरेपछि लगेजमा भएका सामान कम्प्युरट स्क्रिनमा हेर्न सकिन्छ । एक्सरे मेसिनको आधारमा कम्बरमा बाँधेर ८ किलो सुन लिएर नेपाल छिरेका दुई चिनियाँ नागरिकलाई भन्सार कार्यालले जाँचको क्रममा बिहीबार राति ११:१५ बजे पक्राउ गरेको थियो ।

एक्सरे मेसिन कम भएका कारण सबैतिर जाँच गर्न कठिन रहेका कारण उनीहरूले सुन छिराउने प्रयास गरेका थिए । डेढ महिनाअघि थप गरिएका नयाँ मेसिनका कारण जाँचमा सहज भएको डीआईजी उपाध्यायले बताए । मंगलबार पनि विमानस्थलबाट कालो रङको वन्यजन्तुको सिङसहित हुम्ला ताँजाकोट गाउँपालिका ५ की २५ वर्षीया सम्झना बुढालाई प्रहरीले जाँचका क्रममा प्रहरीले पक्राउ गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति : December 4, 2019 at 8:00 am