१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

गृह मन्त्रालयले भन्यो, ‘सामाजिक व्यवहार सुधार ऐन कार्यान्वयन गर्न सकिएन’

१८ मंसिर, काठमाडौं । गृह मन्त्रालयले सामाजिक व्यवहार सुधार ऐन २०३३ कार्यान्वयन गर्न नसकिएको स्वीकार गर्दै संसदीय समितिमा ऐन कार्यान्वयनको अवस्था र चुनौतीबारे राय दिएको छ । विवाह, व्रतबन्धजस्ता कार्यक्रममा ऐन उल्लंघन हुने गरे पनि त्यसलाई रोक्न नसकिएको भन्दै गृहले लाचारी व्यक्त गरेको छ ।

राष्ट्रियसभाको विधायन समितिले उक्त ऐन कार्यान्वयन अवस्थाबारे गृहसँग राय मागेको खबर नागरिक दैनिकमा छ । गृहले सामाजिक व्यवहार सुधार ऐन २०३३ को दफा ७, ८, ९ र १० मा रहेको जन्तसम्बन्धी नियन्त्रण, विवाह भोजमा नियन्त्रण, छैठी, न्वारान, जन्मदिवस, पास्नी, बुढो पास्नी, व्रतबन्धमा रहेको सीमा पाबन्दी कार्यान्वयन नभएको रायमा उल्लेख गरेको छ । कतिपयले विवाहमा हेलिकोप्टरसमेत प्रयोग गरेको गृहले जनाएको छ ।

तोकिएभन्दा बढी जन्ती जाने, नगद दाइजो बैंकमार्फत डिपोजिट गर्ने काम भए पनि त्यसलाई रोक्न नसकिएको गृहले उल्लेख गरेको छ । ऐन उल्लंघन गर्नेलाई कारबाही नभएकाले कानुन कार्यान्वयनमा चुनौती थपिएको गृहले जनाएको छ । भारतसँग सीमा जोडिएका जिल्लामा जन्ती जानेआउने चलन हुँदा पनि ऐन कार्यान्वयमा समस्या भएको गृहको भनाइ छ । विवाहका दुवै पक्षले गोप्यरुपमा छिनोफानो गरी विभिन्न सर्त राखी विवाह सम्पन्न गर्ने र यसबारे बाहिर जानकारी नआउने गृहले उल्लेख गरेको छ ।

मधेसी समुदायमा पर्याप्त शिक्षा अभावमा छोरीहरुको चेतनाको स्तर अत्यन्तै कमजोर हुँदा खुलेर कुरा गर्न नसक्नु पनि समस्या रहेको गृहले उल्लेख गरेको छ । विवाहमा दाइजो लिएको वा माग गरिएको विषयमा हालसम्म लिखित रुपमा उजुरी तथा गुनासो प्राप्त नभएकाले पनि ऐन कार्यान्वयनमा चुनौती थपिएको गृहले जनाएको छ । जिल्लामा कानुन कार्यान्वयन गर्ने जिम्मेवारी प्रमुख जिल्ला अधिकारीको मात्र भएकाले घरघरमा पुगी अनुगमन गर्न नसक्नु पनि समस्या रहेको गृहले जनाएको छ ।

स्थानीयका व्यावहारिक समस्या, जिल्लाको सामाजिक सांस्कृतिक परम्पराजस्ता कारणले गर्दा कतिपय अवस्थामा ऐनमा भएका व्यवस्था हुबहु कार्यान्वयन हुन कठिनाइ भएको छ । यस विषयमा विभिन्न किसिमका सचेतनाका कार्यक्रम गर्न नसकिएको गृहले उल्लेख गरेको छ ।

प्रकाशित मिति : 07:51