६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

प्रधानमन्त्रीको निर्देशनपछि राजधानीका खाल्डाखुल्डी पुरिँदै


१८ मंसिर, काठमाडौं । काठमाडौँ उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी पुर्ने काम सुरु भएको छ । २ महिनाभित्र सडकका खाल्डाखुल्डी पुरिनेछ  ।

यो अभियानअन्तर्गत मंगलबार कोटेश्वर-चाबहिल खण्डमा खाल्डाखुल्डी पुर्ने काम भएको खबर गोरखापत्र दैनिकमा छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंसिर ९ गतेको आव ०७६/७७ को चौमासिक समीक्षा बैठक सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सडकको खाल्डाखुल्डीको गीत कहिलेसम्म सुन्ने हो ?’ भन्दै चाँडो पुर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएका थिए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्बाङले दुई-तीन महिनाभित्र काठमाडौँ उपत्यकाका खाल्डा-खुल्डी पुरिने आश्वासन दिएका थिए । उनले योजना बनाएर मंगलबारबाट खाल्डा-खुल्डी पुर्ने काम सुरु भएको बताए । मन्त्रालयले सडक निर्माण, मर्मत तथा खाल्डाखुल्डी पुरिने कामको अनुगमन गर्ने जानकारी पनि उनले दिए । मुलुकभरका सडकका खाल्डाखुल्डी पुरिने काम नसकेसम्म यो अभियान चलिरहने उनको भनाइ छ ।

पहिलो चरणमा काठमाडौँ उपत्यकाका सडकको खाल्डाखुल्डी र दोस्रो चरणमा काठमाडौँ बाहिरका राजमार्ग तथा सडकका खाल्डा-खुल्डी पुरिने मन्त्रालयको योजना रहेको मन्त्री नेम्बाङले जनाए । प्रधानमन्त्री ओलीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलियासहितको अनुगमन टोलीले मंगलबार कोटेश्वरदेखि चाबहिलसम्म खाल्डाखुल्डी पुरिने कार्यको अनुगमनसमेत गरेका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार ०६:५२