६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

यसरी बनाइँदै छ चन्द्रगढीलाई अन्तर्राष्ट्रिय उडानयोग्य विमानस्थल !


१८ मंसिर, दमक । झापाको चन्द्रगढी विमानस्थललाई अन्तर्राष्ट्रिय उडानसहितको क्षेत्रीय विमानस्थलका रूपमा विकास गरिने भएको छ । यसको विस्तृत गुरुयोजना बनिसकेको र गुरुयोजनाअनुसार काम सुरु भएको छ ।

विमानस्थलको स्तरोन्नति र विकासका लागि कम्तीमा थप सय बिघा जमिन आवश्यक पर्ने गुरुयोजनामा उल्लेख छ । विमानस्थलको स्तरोन्नतिका लागि भइरहेको काम र यसको गुरुयोजनाको विषयमा झापाको बिर्तामोडमा मंगलबार छलफल भएको खबर गोरखापत्र दैनिकमा छ ।

गुरुयोजना सार्वजनिकसहितको छलफलमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यस विमानस्थललाई सुविधा सम्पन्न बनाउन कुनै कसर नराखिने प्रतिबद्धता जनाए । अहिले मुलुकभरका विमानस्थलको स्तरोन्नति भइरहेको जनाउँदै उनले त्यसमा यो पनि परेको जानकारी दिए ।

‘जग्गा अधिग्रहणलगायतका विषयमा भएका समस्या समाधान गरी सबै यसमा लाग्नुपर्छ,’ उनले भने । विमानस्थल स्तरोन्नति र विकासले यस क्षेत्रको विकासमा सहयोग पुग्ने भन्दै यसको विरोध एवं असहयोग नगर्न उनको आग्रह थियो ।

मन्त्री भट्टराईले आगामी १० वर्षभित्रमा नेपालको नागरिक उड्डयन क्षेत्र विश्वस्तरीय बन्ने दाबी पनि गरे । नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक राजन पोखरेलले झापाको चन्द्रगढी विमानस्थलको स्तरोन्नति र विकासका लागि जग्गा व्यवस्थापन सबैभन्दा महत्त्वपूर्ण पाटो भएको बताए । उनले गुरुयोजनाअनुसार काम गर्न जग्गा अधिग्रहणको काम चाँडो अगाडि बढाउनुपर्नेमा जोड दिए । झापा कारागार, जिल्ला प्रशासन कार्यालयलगायत सरकारी कार्यालय रहेको स्थान विमानस्थलका लागि आवश्यक हुने उनको भनाइ थियो ।

नागरिक उड्डयन प्राधिकरण चन्द्रगढीका प्रमुख पूर्ण चुडालका अनुसार यहाँबाट भारतको कलकत्ता, बंगलादेश र भुटानको उडान सम्भावाना छ । केही समयपछि नै चन्द्रगढी विमानस्थलबाट क्षेत्रीय उडान सुरु हुने र पोखरा उडानका लागि आवश्यक तयारी पूरा भएको उनले बताए ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार ०६:४५