प्रधानमन्त्री ओलीलाई उपचारका लागि अमेरिका लैजाने तयारी
१७ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई थप उपचारका लागि विदेश लैजाने तयारी भएको छ । एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आइरहेको छ ।
अस्पतालबाट डिस्चार्ज गरेपछि मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लैजान चिकित्सक र नेकपा शीर्ष नेताबीच छुट्टाछुट्टै छलफल भएको छ । ‘मिर्गौलाको कार्यक्षमतामा पूर्ण ह्रास नआउँदै एकपटक विदेश लैजाने तयारी छ’, उपचारमा संलग्न एक चिकित्सकले भने । प्रधानमन्त्री ओलीको एक सातामै दुईपटक डायलासिस गरिसकिएको खबर अन्नपूर्ण पोस्टमा छ ।
नेकपाका एक सचिवालय सदस्यले प्रधानमन्त्री ओलीलाई उपचारका लागि विदेश लैजान आन्तरिक छलफल भइरहेको बताए । ‘अमेरिकै लैजाने कि अमेरिकी चिकित्सकलाई नेपालमै झिकाएर उपचार गराउने भन्नेमा छलफल भइरहेको छ’, ती नेताले भने, ‘अमेरिका लैजाने सम्भावना बलियो छ ।’

केही साताअघि प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाह अमेरिकाबाट फर्केकी थिइन् । वरिष्ठ मिर्गौला रोग विशेषज्ञसमेत शाहले निजी कार्यक्रमका लागि अमेरिका गएको बताए पनि उनले त्यहाँ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे विज्ञ चिकित्सकसँग छलफल गरेको बताइएको छ ।
प्रधानमन्त्री ओलीलाई मिर्गौला दिन तयार पारिएका नातेदार हाल अमेरिकामै छन् । नातामा भान्जा पर्ने व्यक्ति प्रधानमन्त्री ओलीलाई मिर्गौला दिन तयार रहेको बताइएको छ ।
प्रधानमन्त्री ओलीको एक महिनाको अवधिमा सातपटक डायलासिस गरिसकिएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ओलीको थप उपचारका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको ‘फर्स्ट पर्सन नोट’ पठाउँदै शनिबार स्वास्थ्य लाभको कामना गरेका थिए । ओलीले ०६४ मा भारतमा मिर्गौला प्रत्यारोपण गराएका थिए ।
प्रकाशित मिति : December 3, 2019 at 6:58 am







