उप-चुनाव : दाङमा नेकपा, बागलुङमा जनमोर्चा
१६ मंसिर, काठमाडौं । प्रदेशसभाअन्तर्गत दाङ क्षेत्र ३ को (ख) मा नेकपाकी विमलाकुमारी खत्री (वली) निर्वाचित भएकी छिन् । यस्तै बागलुङ क्षेत्र २ (ख) मा वामगठबन्धनका साझा उम्मेदवार खिमविक्रम शाही विजयी भएका छन् । शाही राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवार बनेका हुन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार विमलाले ५ हजार १ सय ४ मतान्तरले चुनाव जितेकी हुन् । आइतबार राति सकिएको मतगणना अनुसार वलीले २४ हजार २ सय ८६ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार केशवराज आचार्यले १९ हजार १ सय ८२ मत मात्र प्राप्त गरे ।
त्यस्तै साझा पार्टीका शिवकुमार चौधरीले २ सय ६६, राप्रपाका भूपाल रावतले २ सय २५, समाजवादीका डिल्लीबहादुर डाँगीले १ सय ५४ मत पाए । यो क्षेत्रमा ६८ हजार ७ सय १९ मतदातामध्ये ४५ हजार ७ सय १८ मत खसेको थियो । जसमध्ये ७ सय ९७ मत बदर भएको थियो ।

यस्तै प्रदेशसभा सदस्यका लागि बागलुङ क्षेत्र २ (ख) मा भएको उप-चुनावमा वामगठबन्धनले विजयी हासिल गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को समर्थन पाएको राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीले नेपाली कांग्रेसका उम्मेदवार जित शेरचनलाई २ हजार ९७ मतान्तरले पराजित गरे ।
शाहीले ११ हजार २ सय ३५ मत प्राप्त गरे भने शेरचनले ९ हजार १ सय ३८ मत प्राप्त गरे । यस क्षेत्रमा २०७४ को निर्वाचनमा पनि साबिकको नेकपा एमाले र माओवादी केन्द्रको समर्थनमा उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती ११ हजार ८ सय ८४ मत प्राप्त गरी विजयी भएका थिए ।
त्यसबेला पनि प्रत्यासी रहेका कांग्रेसका शेरचनले ८ हजार ६ सय६४ मत प्राप्त गरेका थिए । उक्त चुनावमा अहिले अन्तर भने हजारभन्दा बढीले घटेको छ ।
प्रकाशित मिति : 07:38







