नेकपा अध्यक्ष प्रचण्ड चीन जाँदै
१४ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छिट्टै चीन जाने भएका छन् । नेपाल–चीन मिडिया फोरमले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा दाहालले आफू चाँडै ने चीन भ्रमणमा जान लागेको जानकारी दिए ।
चिनियाँ कम्युनिस्ट पार्टीको चाहनाअनुसार आफू त्यहाँ जान लागेको दाहालले बताए । ‘चिनियाँ पक्षले मेरै नेतृत्वमा नेपाली टोली भ्रमणमा आओस् भन्ने चाहना राखेको छ,’ दाहालले भने, ‘त्यसका लागि चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणा आइसकेको छ ।’
दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग फरकफरक सन्दर्भमा आफ्नो आठ पटकसम्म भेट भइसकेको बताउँदै उनीसँग एक खालको सम्बन्ध बनिसकेको बताए । उनले चीनसँग आफ्नो जनस्तरको सम्बन्ध पनि बनिसकेको नागरिक दैनिकमा खबर छ ।
उनले आफ्नो भ्रमणले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण क्रममा भएका सहमति कार्यान्वयनमा सघाउ पुग्ने विश्वास पनि व्यक्त गरे । चीनसँग नेपालको कुनै समस्या नभएको बताउँदै दाहालले एक चीन नीतिमा नेपाल अडिग रहेको दोहो-याए । उनले जुनसुकै पार्टी शक्तिमा आए पनि एक चीन नीतिमा दायाँ बायाँ नहुने बताए । चीनले पनि नेपाले नीतिमा यहाँका जुनसकै पार्टी सत्तामा पुगे पनि परिवर्तन नगर्ने दाबी गरे ।

प्रकाशित मिति : 07:29







