२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

रेलको नक्सांकन गरी फर्कियो चिनियाँ टोली


१४ मंसिर, काठमाडौं उच्चस्तरीय चिनियाँ प्रतिनिधि मण्डलले काठमाडौं-पोखरा र काठमाडौँ-लुम्बिनी रेलमार्ग आयोजनाको स्थलगत अध्ययन गरी नयाँ नक्सांकन प्रस्ताव गरेको छ । मुख्यतः केरुङ-काठमाडौँ रेलमार्ग आयोजनालाई अगाडि बढाउन छलफल गर्न नेपाल आएका चिनियाँ प्रतिनिधिमण्डलले काठमाडौँ-कुरिनटार-पोखरा र काठमाडौँ–कुरिनटार–लुम्बिनी रेलमार्गको नक्सांकन (एलाइनमेन्ट) तथा स्टेसनहरू रहने सम्भावित ठाउँहरूको स्थलगत अध्ययन गरेको हो ।

चीनको रेलवे प्रशासनका उपप्रशासक आन लु सङको नेतृत्वमा २३ सदस्यीय उच्च स्तरीय चिनियाँ टोली मंसिर ९ गते काठमाडौँ आएको थियो  । चिनियाँ टोली शुक्रबार स्वदेश फर्किसकेको खबर गोरखापत्र दैनिकमा छ ।

रेल विभागका प्रवक्ता अमन चित्रकारले चिनियाँ प्रतिनिधि मण्डलले अध्ययनका क्रममा प्रस्तावित काठमाडौँ–पोखरा र काठमाडौँ–लुम्बिनी रेलमार्ग निर्माणबारे स्थलगत अध्ययन गरेको जानकारी दिए । उनले काठमाडौँ–पोखरा र काठमाडौँ–लुम्बिनी रेलमार्ग निर्माणका लागि चितवन कुरिनटारसम्म एउटै ‘एलाइनमेन्ट’ हुने अध्ययनले प्रस्ताव गरेको जानकारी दिए । स्थलगत अध्ययन टोलीमा चिनियाँसहित नेपालको रेल विभागबाट इन्जिनियर चित्रकार र अर्का इन्जिनियर नवराज भट्टको सहभागिता रहेको थियो ।

त्यसैगरी, कुरिनटारबाट भरतपुर-भैरहवा हुँदै लुम्बिनीसम्म रेलमार्ग निर्माणका लागि नयाँ ‘एलाइनमेन्ट’ प्रस्ताव गरिएको उनले बताए । उनले भने, ‘रेलमार्ग काठमाडौँबाट कुरिनटार भएर पोखरा जान्छ र कुरिनटारबाट लुम्बिनीका लागि छुटिन्छ ।’ उनका अनुसार, प्रस्तावित यो रेलमार्गको ‘डिजाइन स्पिड’ प्रतिघण्टा २ सय किमि हुनेछ । प्रस्तावित पूर्व–पश्चिम रेलमार्गको गति प्रतिघण्टा २ सय किमि नै छ ।

काठमाडौँबाट पोखरासम्मको लम्बाइ १६४ किमि र कुरिनटारबाट लुम्बिनीसम्मको १५७ किमि रहेको सो अध्ययनले देखाएको जानकारी प्रवक्ता चित्रकारले दिए । त्यसैगरी, काठमाडौँदेखि कुरिनटारसम्मको लम्बाइ सय किमि र कुरिनटारदेखि पोखरासम्मको लम्बाइ ९८ किमि रहने अध्ययनले देखाएको छ ।

प्रवक्ता चित्रकारका अनुसार, स्थलगत अध्ययनको क्रममा काठमाडौँ-लुम्बिनी रेलमार्गको अन्तिम रेलवे स्टेसन लुम्बिनीको बुद्ध परिसरमा रहेको मायादेवी मन्दिर बाहिरको क्षेत्रलाई प्रस्तावित यस रेलमार्गको अन्तिम स्टेसन तय गरिएको छ ।

चीनको आर्थिक तथा प्राविधिक सहयोगमा केरुङ–काठमाडौँलगायत नेपालमा निर्माण गरिने भनिएका रेलमार्गबारे छलफल गर्न अबको ६ महिनाभित्र नेपाल र चीनको उच्च स्तरीय प्रतिनिधि मण्डलबीच २०२० को जुनमा चीनमा हुने जानकारी प्रवक्ता चित्रकारले दिए ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार ०६:५१