१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

८ वर्षीया बालिका अपहरणको प्रयास गर्ने भारतीय नागरिक जेल चलान

१३ मंसिर, सप्तरी । बालिका अपहरणको प्रयास गर्ने एक भारतीय नागरिकलाई जेल चलान गरिएको छ भने अर्का भारतीय नागरिक बालसुधार गृह पुगेका छन् ।जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेलको इजलासले भारत बिहार जिल्ला सुपौल ग्राम पञ्चायत कुनौली–१८ बथनाहाका २० वर्षीय आनन्द गोसाइलाई हिजो पुर्पक्षका लागि राजविराज कारागार पठाइएको छ । सोही आरोपमा पक्राउ परेका कुनौली–४ बैरियाघाटका १६ वर्षीय बालक (अनिल भनिने दुर्गानन्द झा) लाई अदालतले बालसुधार गृह वीरगञ्ज पठाउने आदेश दिएको छ ।

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–९ स्थित मामाघर आएकी मोरङको धनपालथान गाउँपालिका–५ दादरबैरियाकी आठ वर्षीया आँचल शर्मालाई गत कात्तिक १४ गते आरोपितहरुले अपहरण प्रयास गरेको भन्दै स्थानीयवासीले नियन्त्रणमा लिएका थिए । पीडित बालिका मृत्यु भएका हजुरबुवाको १३ दिने श्राद्धमा मामाघर आएकी थिइन् । मामाघरका परिवारका सदस्यहरु श्रद्धा पूजा र भोजभतेरमा व्यस्त रहेका बेला आरोपितहरुले चिया र बिस्कुटको प्रलोभन दिई साइकलमा लैजाँदै गरेको बेला बालिकाकी हजुरआमा ५५ वर्षीया सावित्रीदेवी शर्माले होहल्ला गरेपछि जुटेका स्थानीयवासीले आरोपितहरुलाई नियन्त्रणमा लिएका हुन् ।

आरोपितहरुको साथबाट प्लाष्टिकको तीन बोरासमेत फेला परेको इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले बताउनुभयो । चिया र बिस्कुट खान दिने भनेकाले उनीहरुसँग गएको बालिकाले बताउनुभयो । बालिकाका मामा ३९ वर्षीय अमित शर्माले कात्तिक १५ गते आरोपितहरुविरुद्ध दिएको अपहरण तथा शरीर बन्धकको उजुरीमाथि जिल्ला प्रहरी कार्यालयले कात्तिक १८ गते दर्ता गरी कारवाही थालेको हो ।

प्रकाशित मिति : November 29, 2019 at 12:23 pm